नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाउनुभएको छ ।
शनिवार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गर्नुभएको हो । सचिव बस्नेतले गत वर्षको २३ र २४ गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाउनु भयो । उहाँले डिस्कोर्ड च्यानल, ‘हामी नेपाली बर्बरा फाउण्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको जिकिर गर्नुभयो । ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउने जस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको उहाँको भनाइ छ । सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढंगले आधारहीन आरोप लगाएको बस्नेतले बताउनु भयो । उपाध्यक्ष पौडेलमाथि लगाइएको जग्गा र उद्योगको शेयरसम्बन्धी आरोपहरू निराधार रहेको भन्दै उहाँले यस्ता गतिविधिको एमालेले राजनीतिक ‘हिसावकिताव’ गर्ने चेतावनी दिनुभयो ।
सचिव बस्नेतले भन्नुभयो, ‘राज्यविरुद्ध आतंक सिर्जना गर्ने प्रयास भइरहेको छ । डिजिटल प्लेटफर्मलाई हाम्रो विरुद्ध भ्रम फैलाउने माध्यम बनाइएको छ । भदौ २३ र २४ गतेका घटना नेपालमाथिको आक्रमण थिए । ती घटनामा डिस्कोर्ड च्यानलको प्रयोगदेखि लिएर ‘वी आर नेपाली’, ‘बारबरा फाउण्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता साम्राज्यवादी देशसँग आवद्ध भनिएका समूह तथा सुदन गुरुङद्वारा परिचालित पङ्क्तिहरू प्रयोग गरेर नेपालमाथि हमला गरिएको थियो । त्यहाँ बम बनाउन सिकाइएको थियो, घर जलाउन सिकाइएको थियो । सिंहदरबार जलाइयो, संसद जलाइयो, सर्वोच्च अदालत जलाइयो, निजी उद्योग तथा कारखानाहरू जलाइए र हाम्रा घरहरू पनि जलाइए । आज ती अपराधीहरू सत्ताको छायामा संरक्षित छन् । आजसम्म पनि हाम्रा जलेका घरहरूको क्षतिपूर्ति हामीले पाएका छैनौँ । अर्कोतर्फ, हाम्रा नेताहरूले शपथ ग्रहण गरेको २४ घण्टा पनि बित्न नपाउँदै हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने कुरा गर्ने बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाव राखेको छ । तिमीहरूसँग यसको हिसाब हुनेछ । एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ । आज विष्णु पौडेलमाथि वाहियात आरोप लगाएर थुनिएको छ । हिजो मालपानीको ८ करोड रुपैयाँको गाडी चढ्ने बालेन साह आज अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेको छ । हिजो दीपक भट्टसँग शेयर लिने सुदन गुरुङ आज ढुक्कसँग हिँडिरहेको छ । अहिले समाचार सुन्दैछौँ–उनी बेपत्ता भएका रे । कुकर्म गर्नेहरू स्वाभाविक रूपमा बेपत्ता हुनेवाला छन् ।’
पार्टीले शुरु गरेको जागरण अभियानमार्फत यि तमाम भ्रमहरूबारे शुरुमा पार्टीका नेता तथा कार्यकर्ता र त्यसपछि आम जनतालाई स्पष्ट पार्दै लैजाने एमालेको योजना रहेको उहाँले बताउनु भयो । उहाँले भ्रमको खेती गर्नेहरूविरुद्ध पार्टी पंक्ति वैचारिक र सांगठनिक रूपमा सशक्त ढंगले प्रश्तुत हुने उद्घोष समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल