काठमाडौं महानगरले सोमबारबाट कल सेन्टर चलाउने

.

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सोमबारबाट कल सेन्टर चलाउने भएको छ। महानगरका मेयर बालेन्द्र साह (बालेन)ले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार सोमबारबाट कल सेन्टर चल्ने भएको हो।

महानगरका सूचना विभाग प्रमुख नवराज ढकालका अनुसार महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबारबाट पहिलो चरणमा कल सेन्टर चलाउने तयारी भएको हो।

ढकालका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने छ। महानगरभित्रका सडक,ढल पूर्वाधार, बजार अनुगमन, स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रमा गुनासो आउन सक्छ सोहि अनुसार महानगरका विभिन्न विभागहरुमा आएका गुनासोहरु फरवार्ड गरेर कारबाही हुने ढकालको भनाई छ।