राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिनुभएको छ ।
बुधवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । सांसद पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरीजल तथा गोकर्णेश्वरका बासिन्दाले पानी उपभोग गर्न नपाएको बताउनु भयो । उहाँले खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकहरूको मिलेमतो रहेको आरोप लगाउँदै यसले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताउनु भयो । कर्मचारीहरूले आफ्नो मनलाग्दो ढंगले केही टोलमा पानी छोड्ने र केहीमा नछोड्ने गरेको भन्दै उहाँले संयन्त्रको लापरबाहीप्रति आपत्ति जनाउनु भयो । आफूले पनि पानी जडान गर्दा कर्मचारीको गैरजिम्मेवार व्यवहार र बेथिति भोगेको उल्लेख गर्दै उहाँले आम जनताको अवस्था झनै दयनीय रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ वडाका बासिन्दा पानी नपाएर तड्पिरहेका छन् । मुहान क्षेत्रका बासिन्दाले पानी खान नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाउने कार्य अब सह्य हुँदैन । यदि स्थानीयको समस्या तत्काल सम्बोधन नभए हामी ड्याम नै बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ । म अन्य नेताजस्तो आश्वासन मात्र दिने पक्षमा छैन, यदि गोकर्णका जनताले पानी पाउँदैनन् भने म आफैँ अगाडि लागेर पानी रोक्नेछु ।’
आरुबारी क्षेत्रमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्ध भएर नयाँ प्रक्रियामा जान लागेको सन्दर्भ जोड्दै सांसद पाण्डेले दोस्रो चरणको पाइपलाइन विस्तारमा भइरहेको ढिलाइले स्थानीय थप मर्कामा परेको बताउनु भयो । उहाँले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजनाका इन्जिनियर तथा कर्मचारीहरूलाई कार्यशैली सुधार्न आग्रह गर्नुभयो । कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीपनले जनतामा चरम असन्तुष्टि बढेको भन्दै उहाँले तत्काल स्थलगत अनुगमन गरी समस्या समाधान गर्न माग गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रका जनताको पीडालाई सरकारले नजरअन्दाज गरेमा पाइप फुटाउने वा मुहानमै अवरोध गर्ने जस्ता कडा कदम चाल्न आफू पछि नहट्ने उहाँको भनाइ छ ।–न्युज एजेन्सी नेपाल