अति भारी वर्षाको सम्भावनाः उच्च शतर्कता अपनाउन र रात्रिकालीन सवारी सञ्चालन नगर्न सरकारको आग्रह

.

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार र आईतवार मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च शतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले साउन २ गते शनिवार र ३ गते आईतवार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ । यसैगरी मधेस, वागमती र अन्य हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ । भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान र गेग्रान बहावको जोखिम उच्च हुने भएकाले प्राधिकरणले पूर्वतयारीका लागि विशेष निर्देशन जारी गरेको छ । उक्त अवधिमा अत्यन्त जरुरी कामबाहेक घरबाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ । प्राधिकरणले जोखिमको गम्भीरतालाई ध्यान दिँदै कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ वटा अति जोखिमयुक्त (रातो रङ इंकित) जिल्लाहरूमा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ । यसरी रोक लगाइएका जिल्लाहरूमा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन् । परिस्थितिको संवेदनशीलता हेरी जुनसुकै समयमा पनि सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले जनाएको छ । विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । सम्भावित सडक अवरोध हटाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता हेभी इक्युपमेन्टहरू तयारी अवस्थामा राख्न भनिएको छ । साथै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नदी किनारा तथा पहिरोको जोखिम भएका बस्तीमा बसोवास गर्नेहरूलाई थप सजग रहन आग्रह गरिएको छ । नागरिकहरूको सहजताका लागि प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद् मद्दतका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरीका लागि १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । प्राधिकरणले मौसम सम्बन्धी अद्यावधिक जानकारी र चेतावनीका लागि सञ्चार माध्यम तथा आधिकारिक पोर्टलहरू नियमित रूपमा अवलोकन गर्न समेत ध्यानाकर्षण गराएको छ । –न्युज एजेन्सी नेपाल