जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यकः मन्त्री चौधरी

.

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो । यि लक्ष्य हासिल गर्न चीन सरकार, सिडका, एफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृङ्खला विकास गर्ने बताउनु भयो । उहाँले नेपालको कृषि क्षेत्र न्युन उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सिमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या भएको उहाँले बताउनु भयो । उहाँले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई हाम्रो बहुसंख्यक जनसमुदायको जीविकोपार्जन, संस्कृति र पहिचानको आधार हो । तर आज हाम्रो कृषि क्षेत्रले न्युन उत्पादकत्व र जलवायु परिवर्तनका गम्भीर र बढ्दो जोखिम, प्राकृतिक विपद् र कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन तथा आधुनिक प्रविधि र बजारसम्मको सिमित पहुँच जस्ता जटिल संरचनागत चुनौतीको सामना गरिरहेको छ । त्यसैगरी नेपालका अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभाव हुँदा कृषि उपजको निर्यात प्रवद्र्धनमा समस्या भइराखेको छ । यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै कृषि क्षेत्रको दिगो विकास र खाद्य सम्प्रभुता सुनिश्चित गर्न नेपाल सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण तथा आधुनिक परीक्षण प्रयोगशालाको निर्माण एवं दायरा विस्तारलाई आफ्नो उच्च नीतिगत प्राथमिकता राखेको छ र नवप्रवर्तन र जलवायु स्मार्ट प्रविधिको अधिकतम उपयोगमार्फत उत्पादन वृद्धि गर्ने दिगो मूल्य श्रृङ्खला विकास गर्ने, महिला तथा सीमान्तकृत समुदायको सशक्तिकरण गर्दै समावेशी आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रमुख राष्ट्रिय लक्ष्य हो । यस लक्ष्यमा चीन सरकार र सिडका तथा एफएओ लगायतका दातृ राष्ट्र एवं संस्थाहरूबाट सहयोगको अपेक्षा गर्दछु । मलाई पूर्ण विश्वास छ सिडकाको सहयोगमा आजदेखि कार्यान्वयनमा जान लागेको यस परियोजना नेपाल सरकारका यिनै राष्ट्रिय प्राथमिकता र नीतिगत दिशासँग प्रत्यक्ष रूपमा आवद्ध छ । जलवायु स्मार्ट कृषि अभ्यासको प्रवद्र्धन र पोषण सुधार, बजार पहुँच विस्तार र स्थानीय संस्थागत क्षमताको सुदृढीकरणमार्फत यस परियोजनाले नेपालको समग्र कृषि खाद्य प्रणालीलाई थप सक्षम र दिगो बनाउन दूरगामी योगदान पु¥याउनेछ ।’
उहाँले चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा शुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनु भयो । उहाँले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरिबी न्युनिकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताउनु भयो । ज्ञान, प्रविधि र असल अभ्यासको आदान–प्रदानले कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल