काठमाडौं-नगर विकास कोष अन्तर्गत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत लेखाक्षेत्रमा कार्यरत कर्मचारीहरुको लागि विशेष तालिमको व्यवस्था गरिएको छ ।
खानेपानी आयोजनाहरुको प्रभावकारी संचालन र व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कोषबाट २७ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका लेखाक्षेत्रमा कार्यरत कर्मचारीलाई विलिङ तथा एकाउन्टिङ सफ्टवेयर सम्बन्धि ५ दिने तालिम कार्यक्रमको आयोजना गरिएको हो । कोषको सेवाग्राही संस्थाहरुको क्षमता विकास कार्यक्रम अन्तर्गत खोपानी तथा ढल निकास व्यवस्थापनसंगको सहकार्यमा कोष समेतको ऋण लगानीमा संचालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गतका लेखा कर्मचारीलाई यो अवसर प्रदान गरिएको हो ।
निर्माण कार्य पूरा भई संचालनमा आउँदै गरेका खानेपानी आयोजना अन्तर्गतका खानेपानी उपभोक्ता संस्थाहरु र सहलगानी खानेपानी आयोजना अन्तर्गतका खानेपानी उपभोक्ता संस्थाहरुको सुदृढीकरणका लागि उपभोक्ता संस्थाहरुको विलिङ्ग तथा एकाउण्टिङ्ग प्रणालीलाई समय सापेक्ष प्रविधिमैत्री तथा पारदर्शी बनाउन तालिमको आयोजना गरिएको कोषको भनाइ छ ।
यस तालिमबाट उपभोक्ता संस्थाहरुको क्षमता अभिबृद्धि भई कोषको लगानीको ठूलो हिस्सा ओगटेको खानेपानी आयोजनाहरु सबल र सुदृढ भई उपभोक्ताहरूको विश्वासयोग्य संस्थाको रुपमा विकास हुने विश्वास गरिएको छ ।