पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरु अहिलेको शासन सत्तामा रहेको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अर्थमन्त्रीले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले देशलाई पछाडि धकेल्ने बताउनु भयो । अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी छ । उहाँले लोकतन्त्रको मर्म र संविधानको भावना नबुझ्नेहरूले वर्तमान व्यवस्थालाई कमजोर बनाउन खोजेको आरोप समेत लगाउनु भयो ।
पूर्वराष्ट्रपति यादवले भन्नुभयो, ‘मलाई लागेको के हो भने अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन् । संविधानको कुरा होस् वा नहोस्, अर्थमन्त्रीले संघीयता खत्तम गर् भनेर बोल्छन् । यसले फेरि प्यान्डोरा बक्स खोलेर राणाकालीन सोच फर्काउने, देशलाई बर्बाद गर्ने खतरा देखिन्छ । हामीले विद्वान भनेर विश्वास गरेका व्यक्तिहरू, युएनडीपीमा काम गरेका, ठूलो शिक्षा हासिल गरेका भनेर प्याराडाइम सिफ्ट गर्ने अपेक्षा गरेका मानिसहरू नै संघीयता खत्तम गर्ने कुरा गर्छन् भने त्यो देशका लागि गम्भीर समस्या हो । संघीयतासँगै धेरै कुरा जोडिएका छन्, त्यसैले यसलाई हल्का रूपमा लिन मिल्दैन ।’
संघीयतासँग धेरै पक्षहरू जोडिएको स्मरण गराउँदै उहाँले प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल