सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल

.

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई तमासा देखाउन छाडेर जनताका समस्याप्रति संवेदनशील र जिम्मेवार हुन आग्रह गर्नुभएको छ ।
प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा बढ्दै गएको आत्महत्याको प्रवृत्ति र नागरिकले भोगिरहेका पीडाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभएको हो । उहाँले सरकारले सञ्चार गृह र राजनीतिक दलका नेताहरूको घर अगाडि गाडी तेस्र्याएर शक्ति प्रदर्शन गर्ने जस्ता अपरिपक्व कार्य गर्न नहुने टिप्पणी गर्नुभयो । सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै नेता नेपालले नयाँ सरकारलाई काम गर्न र सिक्नका लागि १०० दिनको समय दिइएको तर बिहानीले दिनको सङ्केत गर्छ भनेझैँ सरकारको शुरुवाती लक्षणहरू उत्साहजनक नदेखिएको स्पष्ट पार्नुभयो । आफूहरू अहिले सरकार ढाल्ने खेलमा नरहेको प्रष्ट पार्दै उहाँले प्रतिपक्षका रूपमा सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । यद्यपि, उहाँले राष्ट्रिय हित विपरितका कार्य नगर्न सरकारलाई सचेत गराउनु भयो । सहसंयोजक नेपालले भन्नुभयो, ‘आज जनताका पीडा हामीले हरेक दिन सुनिरहेका छौँ । आत्महत्यासम्म पुग्ने निराशाजनक घटनाहरूले हामी सबैलाई गहिरो पीडा दिइरहेका छन् । यस्तो अवस्थामा सरकार संवेदनशील बन्नुपर्छ । तमासा देखाउने काम नगरी जिम्मेवारीपूर्वक शासन सञ्चालन गर्नुपर्छ । सरकार नयाँ भएकाले शुवआती १०० दिनको समय दिइएको हो । तर सिक्ने र सुधार गर्ने संकेत शुरुदेखि नै देखिनुपर्छ । शुरुवाती कामले नै भविष्यको दिशा देखाउँछ । त्यसैले सरकारले आफ्नो कार्यशैलीबाट सही सन्देश दिनुपर्छ । राम्रो काम गर्दा देश र जनताको नै हित हुन्छ। त्यसैले अनुभवबाट सिक्दै सही दिशामा अघि बढ्नुपर्छ । अहिले हाम्रो उद्देश्य सरकार ढाल्ने होइन । न त त्यसतर्फ लागेका छौँ, न अहिले त्यस्तो अवस्था नै छ । हाम्रो भुमिका सकारात्मक र रचनात्मक हुनेछ । तर सरकारसँग हाम्रो आग्रह छ–देशको हितलाई पहिलो प्राथमिकतामा राख्नुस् । विदेशी स्वार्थको पक्षमा नलाग्नुस्, छिमेकी राष्ट्रसँग अनावश्यक तनाव सिर्जना गर्ने काम नगर्नुस्, र गरिब, सुकुम्बासी, विपन्न, महिला, दलित तथा अन्य कमजोर समुदायलाई कुनैपनि प्रकारको पीडा हुने अवस्था आउन नदिनुस् ।
सुकुम्वासी, आर्थिक रूपमा विपन्न परिवार, महिला तथा दलित समुदायले भोग्नुपरिरहेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै नेता नेपालले राज्यका तर्फबाट कसैले पनि पीडा सहनु नपर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल