प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली

.

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकार सञ्चालनको सन्दर्भमा देखिएका अस्पष्टतालाई हटाएर स्पष्ट ढंगले सरकार सञ्चालन गरिने बताउनु भयो । नेपाली काँग्रेस र नेकपा (एमाले) प्रदेश सरकारहरुमा  सत्ता साझेदारी टुट्ने बहस भइरहेको बेला अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्यको तयारी भएपछि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । अन्य प्रदेशहरुमा पनि कम्युनिष्ट दलहरुको गठबन्धनको सरकार बन्ने देखिएको छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल जस्तो भएको छ । तर त्यसको समाधान हामी छिट्टै दिन्छौं । र त्यो अस्पष्टतालाई हामी हटाउँछौं । स्पष्ट ढंगले प्रदेश सरकारहरू, स्थानीय सरकारहरू चल्छन् ।’
उहाँले सबै राजनीतिक दलहरु मिलेर संघीय सरकारलाई समेत सजग गराउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल