नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलहरुमाथि प्रतिशोधपूर्ण आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले आफूमाथि प्रतिशोध साँधेर पूर्वाग्रहपूर्ण व्यवहार गरेको आरोप लगाउनु भयो । उहाँले मुद्दा चलाउने आधारबिना आफूलाई १५ दिनसम्म हिरासतमा राखेदेखि राजनीतिक प्रतिशोधको श्रृंखला नरोकिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले दलहरुलाई परामर्शबाट बाहिर राख्ने, अनादर गर्ने, कुप्रचार गर्ने र झुटा आरोप लगाउने कार्य गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिवादमा उत्रिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ अहिले राजनीतिक दलहरू गत वर्षको भदौ २३ र २४ गतेबाट नै आक्रमणको शिकार भएका छन् । सरकार बन्ने बित्तिकै पूर्वप्रधानमन्त्रीलाई फलानालाई गिरफ्तार गर्ने भन्ने निराधार, पूर्वाग्रहपूर्ण दुनियाँमा कहीँ पनि हुँदैन । निराधार गिरफ्तार गर्ने निर्णय गरेर रातभरि लगाएर बिहानको राति नै निर्णय कार्यान्वयन गर्ने ठाउँमा पुगे । अवैध ढंगले १५ दिन १३ दिन मलाई हिरासतमा राख्ने काम किन ? सरकारले केही पनि मुद्दा त चलाउन सकेन । गजब छ, अदालतको बारेमा म केही भन्न चाहन्न । त्यसयता अब के–के घटना भए कुरै नगरौँ । रमेश लेखकलाई गिरफ्तार गरियो, केही पनि छैन, छुट्यो । फेरि प्रतिशोध, अर्को प्रतिशोध । विष्णु पौडेलजी नेकपा एमालेका उपाध्यक्ष, पूर्वअर्थमन्त्री, उपप्रधानमन्त्रीजी पार्टीको कामको सन्दर्भमा सुर्खेत पुग्नुभएको थियो, उहाँलाई गिरफ्तार गरियो । भोलि बिहानै उहाँ काठमाडौं आउँदै हुनुहुन्छ भन्ने थाहा हुँदाहुँदै सरकारले गिरफ्तार गरेर काठमाडौंँ ल्यायो । यो कस्तो प्रतिशोध हो ? कता जाँदैछ देश ? त्यसकारण लोकतन्त्र फर्काउनुपर्नेछ । त्यही बेलादेपख राजनीतिक दलहरूसँग परामर्श गरिएन। राजनीतिक दलहरूलाई अनादर, उपेक्षा, अपहेलना गरेर र घृणाको पात्र बनाएर, कुप्रचार गरेर, झुटा आरोप थोपरेर चलेको छ । यस्ता कुराको प्रतिवाद गर्नुपर्छ ।’
उहाँले दलहरुले संविधान र व्यवस्थाको लागि लड्नुपर्ने आवश्यकता रहेको भन्दै आन्तरिक विवादमा नअल्झिन समेत आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल