चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको एक सफल र वैकल्पिक मोडेल भएको सरोकारवालाहरूले बताएका छन् । चिनियाँ विशेषतासहितको समाजवाद र नयाँ युगका लागि सीले अवलम्वन गरेको नीतिले वैश्विक शासन पद्धतिमा नयाँ आयाम थपेको उनीहरूको निष्कर्ष छ ।
काठमाडौंमा आयोजित सी चिनफिङको पार्टी निर्माण सम्बन्धी विचारधारा’ विषयक कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले नेपाली कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको चर्चा गर्दै नेता खतिवडाले चीनबाट मुख्यतया एकता, दीर्घकालीन दृष्टिकोण र योजनावद्ध कार्यशैली सिक्नुपर्नेमा जोड दिनुभयो । नेपालमा कार्यकर्ताको सुरक्षा, वैचारिक स्पष्टता र भू–राजनीतिक चेतनाको अभाव रहेको उहाँको टिप्पणी छ । नेपालमा पार्टीलाई स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको र जनसम्बन्ध कमजोर हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपालको बहुदलीय लोकतान्त्रिक प्रणाली र चीनको विशिष्ट प्रणाली फरक भएपनि नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान र बहसको आवश्यकता रहेको बताउनु भयो । भ्रष्टाचार नियन्त्रणका लागि चीनले अवलम्बन गरेको टाइगर एन्ड फ्लाइज (ठूला र साना दुवैलाई कारबाही गर्ने) नीतिको प्रशंसा गर्दै खतिवडाले यसलाई सीको कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । सो अभियान अन्तर्गत ७० लाखभन्दा बढीलाई कारबाही गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भ्रष्टाचारमा जिरो टोलरेन्स र आत्म–आलोचनाको पद्धतिले पार्टीलाई शुद्धीकरण गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालले चिनियाँ कम्युनिष्ट पार्टीबाट मुख्य रूपमा एकता, दीर्घकालीन सोच र योजनाबद्ध कार्यान्वयन सिक्नुपर्छ । हामीमा अत्यधिक विभाजन छ, जसले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ । त्यसैले साझा लक्ष्यसहित दीर्घकालीन दृष्टि र रणनीतिमा दृढ प्रतिबद्धता आवश्यक छ । अर्को महत्वपूर्ण पक्ष कार्यकर्ताको सुरक्षा हो । राजनीतिक तथा संगठनात्मक रूपमा सक्रिय कार्यकर्ताको सुरक्षा, उपचार र सहयोगका लागि प्रभावकारी व्यवस्था हुनुपर्छ । त्यस्तै, संख्याभन्दा गुणस्तरीय कार्यकर्ता उत्पादनमा जोड दिनुपर्छ । माक्र्सवाद–लेनिनवाद, राष्ट्रिय विकास र भू–राजनीतिबारे स्पष्ट ज्ञान भएका कार्यकर्ता नै संगठनका बलिया आधार हुन्। विचार र सिद्धान्तको गहिरो बुझाइ बिना बनेको ठूलो सङ्ख्याको कार्यकर्ता कुनै पनि बेला पार्टी परिवर्तन गर्न सक्छ। त्यसैले गुणस्तरीय क्याडर निर्माणलाई उच्च प्राथमिकता दिनु आवश्यक छ ।’
पत्रकार गोपाल खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव एवं चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा प्रतिपादित ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको वैकल्पिक र सफल मोडेल भएको बताउनु भयो । खनालले चिनियाँ विशेषतासहितको समाजवाद र नयाँ युगका लागि सीले अघि सारेको विचारधाराले वैश्विक शासन पद्धतिमा नयाँ आयाम थपेको उल्लेख गर्नुभयो । खनालकाअनुसार सी विचारधारा कुनै भ्रम नभएर नयाँ युगका लागि चिनियाँ विशेषताको समाजवादको व्यवहारिक प्रयोग हो । चीनले विगत चार दशकमा ८० करोड मानिसलाई गरिबीबाट मुक्त गराएको तथ्यलाई खनालले ‘विश्वकै एक चमत्कार’ का रूपमा चित्रण गर्नुभयो । राष्ट्रपति सीको कार्यकालमा मात्रै झन्डै १० करोड मानिस गरिबीको रेखाबाट बाहिर आएको उल्लेख गर्दै उहाँले यसको मुख्य श्रेय सीको ‘लक्षित पद्धति’ लाई दिनुभयो । नेताहरूले भाषणमा मात्र सिमित राख्ने विषयलाई सीले निश्चित समयसीमाभित्र परिणाममुखी ढंगले कार्यान्वयन गरेर देखाएको उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘सी चिनफिङले वैश्विक राजनीतिमा प्रचलित शासन पद्धतिको एक बलियो वैकल्पिक मोडेल खडा गर्नुभएको छ । यद्यपि चीनले आफ्नो विकासको मोडल अन्य देशलाई जबर्जस्ती लाद्ने वा निर्यात गर्ने चाहना राखेको छैन । उसले त केवल आफ्ना अनुभव र पाठहरूबाट अन्य विकासोन्मुख देशले लाभ लिन सक्ने बताउँदै आएको छ । अनुशासन र पद्धतिबिना कुनै पनि देश समृद्ध बन्न सक्दैन भन्ने उदाहरण चीनले पेस गरेको छ ।’
भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता चीनको समृद्धिको अर्को मुख्य आधार भएको खनालको भनाइ छ । सीको कार्यकालमा करिव ७० लाखभन्दा बढी नेता तथा कार्यकर्तालाई आर्थिक अनियमितता र पदको दुरुपयोगमा कारबाही गरिएको बताउनु भयो । राष्ट्रपति सी चिनफिङ आफैँ विपन्न गाउँहरूमा पुगेर विकासको अनुगमन गर्ने गरेको स्मरण गर्दै खनालले चिनियाँ विकास जनकेन्द्रित रहेको बताउनु भयो । उहाँले चीनले विकाससँगै आफ्नो संस्कृति र इतिहासलाई पनि उत्तिकै महत्वका साथ संरक्षण गरिरहेको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल