सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल

.

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा विस्तार गर्नुहुँदैन भन्ने भाष्य निर्माण हुँदा मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताउनुभएको छ ।
बिहीवार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित सार्वजनिक ऋणः परिमाणा, परिचालन, उत्पादकत्व र भावी रणनीति विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला तीन–चार वर्षयता कर्जा विस्तार ६–७ प्रतिशतभन्दा माथि जान नसक्नु मुलुकको अर्थतन्त्रका लागि चिन्ताको विषय भएको बताउनु भयो । उहाँले नेपालमा सार्वजनिक ऋणलाई लिएर अनावश्यक नकारात्मक धारणा बनाइएको टिप्पणी गर्दै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव ४५ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण अन्तर्राष्ट्रिय मापदण्डअनुसार धेरै नभएको बताउनु भयो । उहाँले नेपालको अधिकांश वैदेशिक ऋण शुन्य दशमलव ७५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतसम्मको न्यून ब्याजदर र लामो भुक्तानी अवधिसहित लिइएको भन्दै डराइहाल्नुपर्ने अवस्था नभएको नेपालको भनाइ छ । उहाँले अर्थराजनीतिक निर्णयहरूले अर्थतन्त्रलाई ‘ट्र्याप’मा पारिरहेको दाबी पनि गर्नुभयो । आर्थिक वृद्धि सुस्त हुनु र पुँजीगत खर्च प्रभावकारी रूपमा हुन नसक्नु मुलुकका लागि मुख्य चुनौती भएको उहाँको भनाइ छ । पूर्वगभर्नर नेपालले वित्तीय स्थायित्व कायम राख्नु नेपाल राष्ट्र बैंकको प्राथमिक जिम्मेवारी भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ ऋणबारे नेपालमा यस्तो भाष्य निर्माण भएको छ कि कर्जा विस्तार गर्नु नै हुँदैन । यो भाष्य यसरि विकसित भयो कि पछिल्लो तीन, चार वर्षदेखि ६–७ प्रतिशतभन्दा बढी कर्जा विस्तार हुन नै सक्या छैन । अनि हामी भन्छौँ लौ ऋण बढी भयो । खासमा अर्थराजनीतिले अर्थतन्त्रलाई ट्र्यापमा पारिरहेको छ । अहिले हेर्दा नेपालको जुन ४५ पर्सेन्ट टोटल जीडीपीको ऋण भएपनि अत्यन्त न्यून ब्याजदरमा र लामो म्याचुरिटी पिरियडसम्मको छ । शून्य दशमलव ७५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतसम्मको ब्याजदरमा दिइरहेको अवस्था छ । आईएमएफको त जिरो इन्ट्रेस्ट रेटमै दिइरहेको हुन्छ । एडीबीको अलिकति बढी भनेको २ प्रतिशत जति होला । एक्जिम बैंकबाट ल्याएको ऋण लिएर पोखरामा एयरपोर्ट बनाएको भए कति पाइन्थ्यो भन्ने अझै क्लियर भएको छैन । अमेरिकाको ३८ ट्रिलियन ऋण छ । हाम्रो अर्थतन्त्रको ग्रोथ भएको छैन । अब क्यापिटल एक्सपेन्डिचर भएको छैन । वित्तीय स्थायित्वलाई नै अब केन्द्रिय बैंकले ध्यान दिने हो । तर लङ टर्मको लागि हेर्दाखेरि अब छिमेकी राष्ट्र श्रीलंकाको बारेमा त्यत्रो इस्युज आइरहेको छ सतर्क त हुनुप¥यो ।’
उहाँले श्रीलंकामा देखिएको आर्थिक संकटबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने  धारणा राख्नुभयो । –न्युज एजेन्सी नेपाल