सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

.

सुनसरी र सिरहामा भएका घटनाका दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।
जनकपुरधाममा आयोजित सद्भाव ¥याली समापन भए लगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो । नगरमा आयोजित सद्भाव ¥याली विसर्जन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन शुरु गरेका थिए । उनीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले समाजमा शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पीडितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई कुनैपनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् । प्रदर्शनमा सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन् । –न्युज एजेन्सी नेपाल