कोषको क्षमता विकास कार्यक्रम अन्तर्गत निरीक्षण भ्रमण सम्पन्न

.

काठमाडौँ– नगर विकास कोषको म्युनिसिपल फाइनान्स एण्ड क्यापासिटी बिल्डिङ (एमएफसीबी) कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकामा सूचना प्रविधिमा आधारित घर तथा भवन निर्माण अनुमतिको पूर्वाधार जडान आयोजना तयारी लगायतको निरीक्षण भ्रमण सम्पन्न भएको छ।

 

कोष, दातृ निकाय युरोपियन युनियन र युनाइटेड नेसन्स क्यापिटल डेभलपमेन्ट फण्ड (युएनसीडीएफ) बाट संयुक्त रुपमा स्थलगत भम्रणसहित छलफल कार्यक्रम सम्पन्न भएको हो । युरोपियन युनियनको आर्थिक सहयोगमा नगर विकास कोषबाट सञ्चालित एमएफसीबी कार्यक्रमकाबाट धुलिखेल नगरपालिकामा हुन गैरहेको स्ट्रेट एड्रेसिङ एण्ड हाउस नम्बरिङ र सूचना प्रविधिमा आधारित घर तथा भवन निर्माण अनुमतिको पूर्वाधार जडान तथा कार्यान्वयन लगायतको निरीक्षण गरिएको छ।

 

व्यवसाय, सम्पति र घर जग्गा वहाल कर संकलनको लागि सूचना प्रविधिमा आधारित निर्देशिका र कार्यविधि तर्जुमा तथा सूचना प्रविधिमा आधारित नगरपालिकाको सेवा प्रवाह प्रणालीको विकास लगायको विषयमा छलफल भएको थियो । त्यस्तै लगानी योग्य आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदनको तयारी, शहरी पुनर्जिवन आयोजनाको लागि डिजाइन र लगानी; जलवायु उत्थानशील आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन तयारीको लागि धुलिखेल नगरपालिकाका नगर प्रमुख, नगर विकास कोषका कार्यकारी निर्देशक र उप–प्रबन्धक, युरोपियन युनियनका वरिष्ठ कार्यक्रम प्रबन्धक, एमएफसीबीका राष्ट्रिय कार्यक्रम संयोजक र एमएफसीबी कार्यक्रमका विज्ञहरूबाट कार्यक्रमको प्रगति र कार्यान्वयनको समिक्षा गर्दै अनुगमन तथा छलफल समेत सम्पन्न भएको छ।

 

उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख र प्राविधिकहरुको समेत सहभागिता रहेको थियो भने नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोष र एमएफसीबी कार्यक्रमबाट सञ्चालन भैरहेका आयोजनाहरुको बारेमा प्रकाश पारेका थिए । सोही अवसरमा नगर विकास कोष मार्फत लगानी भैरहेका अन्य आयोजनाहरुको बारेमा समेत विस्तृत छलफल भएको थियो । धुलिखेल नगरपालिकाका नगर प्रमुखले नगरपालिकाका संभावित नयाँ आयोजनाहरुको बारेमा भ्रमण टोलीलाई आफ्नो धारणा र भिजन प्रस्तुत गर्दै संयुक्त अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।