नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सवारीसाधनमा भइरहेका आगलागी तथा दुर्घटनाका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ ।
यातयात व्यवस्था विभागले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले त्रिपुरेश्वरमा चालक र सवारीसाधन दुवै जलेको घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको हो । उहाँले देशका विभिन्न स्थानमा पटक–पटक सवारीसाधनमा आगलागी भइरहेको विषयमा राज्य गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । विशेषगरी विद्युतीय सवारीसाधन (ईभी), माइक्रोबस तथा बसमा आगलागी हुँदा यात्रु र चालकले समयमै बाहिर निस्कन नसक्ने अवस्था बनेको बताउनु भयो । सरकारी निकायबाट यसमा प्राविधिक अध्ययन गरी सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । उहाँकाअनुसार विद्युतीय सवारीसाधनमा आगलागी हुँदा ढोका नखुल्ने वा यात्रु बाहिर निस्कन कठिन हुने गरेको छ । उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा मापदण्ड, प्राविधिक परीक्षण र घटनाको कारण पहिचानमा सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज जुन अत्यन्त दुःखद् घटना भएको छ, त्यसप्रति अहिले म धेरै कुरा बोल्न चाहन्नँ । म केवल दुःख व्यक्त गर्न चाहन्छु । भएको घटनामा चालक जलेका छन्, सवारी जलेको छ । अहिले हामीले थोरै मात्रै उत्तेजित हुने कुरा ग¥यौँ भने पनि अवस्था झन् गम्भीर बन्न सक्छ । विभिन्न ठाउँबाट खबरदारी भइरहेको छ, ‘तपाईंहरू के हेरेर बस्नुभएको छ?’ भनेर प्रश्न उठाइएको छ । त्यसैले हामी संयमित छौँ, तर राज्यको ध्यान पनि गम्भीर रूपमा आकर्षण गराउन चाहन्छौँ । आज जलेको सवारीसहित पटक–पटक यस्ता घटना किन भइरहेका छन् ? यस विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ । हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ । यातायात व्यवस्था विभाग राज्यको यातायात क्षेत्रको प्रमुख निकाय हो । यस निकायमार्फत सिंहदरबारका सम्बन्धित सबै निकायको ध्यानाकर्षण होस् भन्ने कुरा मैले राख्न चाहन्छु । अवस्था अत्यन्त जटिल र गम्भीर छ । विभिन्न ठाउँमा सवारीसाधनमा आगलागी भइरहेका छन् । विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा परिरहेका छन् । आखिर यस्तो किन भइरहेको छ ? मानिस र चालकहरू सवारीसाधनभित्रै किन ज्यान गुमाइरहेका छन् ? मैले बारम्बार भन्दै आएको छु, ईभी सवारीसाधनभित्र आगलागी हुँदा ढोका नखुल्ने अवस्था किन आउँछ ? यसको प्राविधिक पक्षबारे निर्माता कम्पनीहरूले मात्र होइन, सरकारका आधिकारिक निकायका प्राविधिक व्यक्तिहरूले पनि स्पष्ट जानकारी दिनुपर्छ । विद्युतीय कार, माइक्रोबस वा बसमा आगलागी हुँदा के गर्ने, कसरी सुरक्षित रूपमा बाहिर निस्कने भन्ने विषयमा पहिले नै सचेतना र जानकारी दिनुपर्छ । धेरै मानिसहरू अहिले त्रसित अवस्थामा छन् । त्यसैले सम्बन्धित निकायको यसतर्फ गम्भीर ध्यानाकर्षण होस् । जब मानिस जल्छ, जब आगो बल्छ, त्यसपछि मात्रै हामी तात्ने परिपाटीको अन्त्य हुनुपर्छ । सुरक्षा र सुरक्षाका अन्य विषयमा पनि समयमै ध्यान दिनुपर्छ । हाम्रो तर्फबाट भने हामी संयमित छौँ । भोलिका दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारको गृह मन्त्रालयदेखि सम्माननीय प्रधानमन्त्रीको कार्यालयसम्म र सम्बन्धित विभागीय मन्त्रालयको पनि मैले गम्भीर ध्यानाकर्षण गराउँछु ।’
उहाँले सोमवार मात्रै त्रिपुरेश्वरमा सवारीसाधानमा आगलागी भएको बताउनु भयो । उहाँले उक्त घटना गम्भिर प्रकृत्तिको रहेको उल्लेख गर्दै महासंघले संयम अपनाएको बताउनु भयो । उहाँले व्यवसायी र सम्बन्धित पक्षलाई उत्तेजित नहुन आग्रह समेत गर्नुभयो । पछिल्ला घटनाले यातायात क्षेत्र र सर्वसाधारणमा त्रास बढाएकाले राज्यका सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल