मझुवा सामुदायिक वनमा आसपासका बस्तीमा बाढीको उच्च जोखिमः दीर्घकालीन तटवन्धनको माग

.

असोज १० र ११ गते आएको भीषण बाढीका कारण मझुवा सामुदायिक वन आसपासका बस्तीहरू उच्च जोखिममा परेका छन् ।
बस्तीभित्रै बाढी पसेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सरोकारवाला निकायले बर्खाको समयमा मात्र हतारमा गरिने कामले समस्या समाधान नहुने भन्दै तत्काल दीर्घकालीन तटबन्धन गुरुयोजनाको माग गरेका हुन् । मझुवा सामुदायिक वनका अध्यक्ष भरतराज पौडेलले लामो समयदेखि स्थानीय बासिन्दाले बर्खाको समयमा त्रासमा बाँच्नुपरेको दुःखेसो गर्नुभयो । स्थानीय बासिन्दा र सरोकारवालाहरूको गुनासो विशेषगरी सरकारको बजेट विनियोजन र काम गर्ने शैलीमा केन्द्रित छ । अध्यक्ष पौडेलकाअनुसार, बर्खा लागेपछि मात्र बजेट निकासा हुने र काम थाल्ने परिपाटीले गर्दा कुनै पनि संरचना दिगो हुन सकेको छैन ।
उहाँले भन्नुभयो, ‘हामी वर्षको १२ महिनामध्ये कम्तीमा ३ महिना त बाढीको त्रासले सुत्न सक्दैनौँ । अहिले पनि मिडियासँग कुरा गर्दै गर्दा कतिबेला खोला बस्ती पस्छ भन्ने डर छ । खोलाको बीचको भाग नखन्ने तर किनारामा मात्र ग्राभेल थुपार्ने कामले खोलाको धार बस्तीतिर मोडिएको छ । यस्तो अव्यवस्थित उत्खनन र छोटो अवधिको सोचले जनताले असुरक्षित महसुस गरिरहेका छन् ।’ 
विशेषज्ञहरूले पनि वैज्ञानिक दृष्टिकोणले खोलाको बहावलाई व्यवस्थित नगरेसम्म यस्ता बस्तीहरू सुरक्षित नहुने औँल्याउँदै आएका छन् । बाढी नियन्त्रणका लागि केवल बालुवा–गिट्टी झिक्ने काममा मात्र केन्द्रित नभई वातावरणीय प्रभाव मूल्यांकनको पूर्ण पालना र वैज्ञानिक गुरुयोजनाको आवश्यकता देखिएको छ । स्थानीयहरूले सरकारसँग केवल बजेट सकाउने काम नभई, अन्तर्राष्ट्रिय अभ्यास अनुरूप नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन माग गरेका छन् । –न्युज एजेन्सी नेपाल