नेपाल–चीन सीमा नाका पूर्ण सञ्चालनका लागि सरकारको जोडः पारवहन अवरोध हटाउन पहल

.

नेपाल–चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवतजावतमा देखिएका अवरोधहरू (बोटलनेक) लाई हटाउन दुवै पक्षबीच गम्भीर संवाद शुरु भएको छ ।
स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा भइरहेका व्यवधानका कारण व्यापारिक क्रियाकलापमा परेको नकारात्मक प्रभावबारे चिनियाँ टोलीलाई जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चिनियाँ दुतावासका प्रतिनिधिहरूसँगको संवादमा उक्त समस्याहरूलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । खड्काले सीमा नाकाको वर्तमान अवस्थाबारे चिनियाँ राजदुत र सम्बन्धित निकायमा सकारात्मक प्रतिवेदन पेश गर्न आग्रह गर्दै यसले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि नाकामा ५७ वटा ढुवानीका साधनहरूको व्यवस्थापनबारे पनि छलफल भएको थियो । स्थानीय भन्सार कार्यालय र चिनियाँ पक्षबीचको समन्वयमा नाका सञ्चालनलाई सहज बनाउन सकिने भन्दै नेपाली अधिकारीहरूले नाका पूर्णरूपमा खुलाउन विशेष जोड दिएका हुन् । दुवै पक्ष सीमा नाकामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्याहरूलाई आपसी समन्वयबाट हल गर्न सहमत देखिएका छन् । –न्युज एजेन्सी नेपाल