राष्ट्रिय बहिरा महासंघविरुद्ध आन्दोलनः आर्थिक अनियमितताको छानबिन र नेतृत्वको राजीनामा माग

.

आफ्नो हक–अधिकारको माग गर्दै देशका ५५ जिल्लाबाट आएका प्रतिनिधिहरूले धर्ना दिएका छन् ।
जेन–जी बहिरा आवाज आन्दोलन समितिको नेतृत्वमा जम्मा भएका करिव २ सय जना प्रदर्शनकारीले महासंघको नेतृत्वमाथि आर्थिक अनियमितता, नीतिगत भ्रष्टाचार र बहिरा समुदायको शिक्षा, रोजगारी तथा प्रतिनिधित्वमा बेवास्ता गरेको आरोप लगाउँदै निष्पक्ष छानबिन र नेतृत्वको राजीनामा माग गरेका हुन् । राष्ट्रिय बहिरा महासंघ नेपालको केन्द्रिय कार्यालय परिसरमा आन्दोलनमा सहभागी प्रतिनिधिहरूले २७ वर्ष पुरानो यस संस्थाले बहिरा समुदायको वास्तविक समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । आन्दोलन समितिका अध्यक्ष प्रज्वल यादवकाअनुसार पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर सडकमा आउनुपरेको हो । उनीहरूले महासंघको पछिल्लो ३ वर्षको कार्यकालको आर्थिक गतिविधि र प्राप्त वैदेशिक सहयोगको पारदर्शी छानबिन हुनुपर्ने माग राखेका छन् । आन्दोलनरत युवाहरूले महासंघमा भित्रिएको वैदेशिक सहयोग र परियोजनाहरूको पारदर्शी छानबिन हुनुपर्ने माग राखेका छन् । यादवकाअनुसार महासंघले सात दिनअघि नै ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि आग्रह गरे पनि सकारात्मक जवाफ नआएपछि बाध्य भएर सङ्घर्षको बाटो रोज्नुपरेको हो । आन्दोलनको क्रममा महासंघका अध्यक्षसँग भेट्न खोज्दा उनी काठमाडौं बाहिर (विराटनगर) रहेको जानकारी प्राप्त भएको र आफूहरू अध्यक्षको प्रतिक्षामा रहेको युवाहरूले बताएका छन्। यदि नेतृत्वले वार्तामा बस्न आनाकानी गरे र माग सम्बोधन नभएमा केन्द्रिय अनुसन्धान ब्युरोमार्फत संस्थाको आर्थिक र प्रशासनिक क्रियाकलापको छानबिन गराउने चेतावनी उनीहरूले दिएका छन् । उहाँले भन्नुभयो, ‘हामीले पटक–पटक आफ्ना समस्या राख्यौँ, तर सुनुवाइ भएन । पछिल्लो तीन वर्षदेखि नेतृत्वमा रहेका पदाधिकारीहरूले न त बहिरा समुदायको जीवनस्तर उकास्न सकेका छन्, न त वैदेशिक सहयोगको सही सदुपयोग नै गरेका छन् ।’
आन्दोलनमा सहभागी उपाध्यक्ष रिता चौधरीले बहिरा महिलाहरूको प्रतिनिधित्व, दोभासेको उपलब्धता र बहिरामैत्री नीतिहरूको अभावका कारण समुदाय पछाडि परेको बताउनु भयो । आफूहरु केवल नामको प्रतिनिधित्व नभइ नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता चाहेको बताउनु भयो । प्रदर्शनकारीहरूले महासंघको विधान सार्वजनिक गर्नुपर्ने र बहिरा व्यक्तिको शिक्षा र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन् । चौधरीकाअनुसार महासंघले बहिरा महिलाहरूको आवाजलाई नीतिगत तहमा स्थान नदिई केवल ‘नाम मात्रको प्रतिनिधि’ का रूपमा उपयोग गर्ने गरेको छ । आन्दोलनकारीहरूको प्रमुख मागमा बहिरा महिला संघको दर्ता, शिक्षा र न्यायमा पहुँचको सुनिश्चितता, तथा हरेक सरकारी वा सार्वजनिक कार्यक्रममा अनिवार्य दोभाषेको व्यवस्था हुनुपर्ने रहेका छन् । उनीहरूले सांकेतिक भाषालाई बहिरा समुदायको मौलिक संस्कृतिका रूपमा स्वीकार गरी राज्यका हरेक तहमा यसको प्रयोग र प्रवद्र्धन गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । देशभरका ५५ जिल्लाबाट प्रतिनिधित्व गरिरहेका यी युवाहरूले आफूहरूको विकास र अधिकारका लागि महासंघको तत्काल अनुसन्धान हुनुपर्ने माग समेत अघि सारेका छन् । दिगो विकास र समानताको नारासहित उनीहरूले राज्यले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ऐनलाई अक्षरशः कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
उहाँले भन्नुभयो, ‘हामी नामको प्रतिनिधित्व होइन, नीति निर्माण तहमा वास्तविक सहभागिता चाहन्छौं । महासंघले हाम्रो पीडा र मुद्दालाई बेवास्ता गरेकाले हामी सडकमा आउन बाध्य भएका हौं। हाम्रा मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’
अर्का प्रदर्शनकारी अमर महतोले नेतृत्वले व्यक्तिगत स्वार्थमा काम गरेको र आफूहरूको जायज गुनासोलाई बेवास्ता गरेको आरोप लगाउनु भयो । उहाँले महासंघको नेतृत्वबाट भएको भनिएको अभद्र व्यवहारको लिखित माफी र गल्ती प्रमाणित भए कारबाहीको माग गर्नुभयो । राष्ट्रिय बहिरा महासंघले स्थापनाको २७ वर्ष पूरा गर्दा पनि बहिरा समुदायको जीवनस्तरमा ठोस सुधार आउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । महासंघका नेतृत्वकर्ताहरूले संस्थालाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको र सरकारी तथा वैदेशिक सहयोगबाट प्राप्त बजेटको सही सदुपयोग नभएको आरोप लगाइएको छ । पटक–पटक फोन र संवादमार्फत अध्यक्षसँग भेट्न खोज्दा पनि व्यवस्था गरिएको छ। बहिरा समुदायले भोगिरहेको रोजगारीको समस्या, शिक्षामा पहुँच र मधेस प्रदेशलगायतका क्षेत्रमा रहेका बहिरा विद्यालयको दयनीय अवस्थाबारे महासंघ मौन रहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अध्यक्षले बहिरा व्यक्तिको पीडा बुझ्नुको साटो अभद्र व्यवहार गर्ने गरेका छन्, यसका लागि उहाँले लिखित माफी माग्नुपर्छ ।’
विरोधकर्ताहरूले महासंघको विधान सार्वजनिक गर्नुपर्ने, विगत तीन वर्षको कार्यप्रगतिको श्वेतपत्र जारी गर्नुपर्ने र बहिरा महिला तथा बालबालिकाको अधिकारका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने माग राखेका छन् । महासंघको आवरणमा व्यक्तिगत स्वार्थसिद्ध गर्ने काम भएको भन्दै आन्दोलनरत पक्षले छानबिन समिति गठनको माग गरेको छ । यदि नेतृत्वले समयमै आफ्ना माग सम्बोधन नगरे थप कडा कदम चाल्ने चेतावनी उनीहरूले दिएका छन् । प्रदर्शनकारीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । काठमाडौंको रानीबारीस्थित कार्यालय परिसरमा जम्मा भएका उनीहरूले नेतृत्वसँग प्रत्यक्ष वार्ताको माग गरेका छन् । –न्युज एजेन्सी नेपाल