पोखरा महानगरको भत्किएको प्रशासनिक भवन हटाउन शुरु

.

पोखरा महानगरपालिकाले न्युरोडस्थित आफ्नो मुख्य प्रशासनिक भवन भत्काउन शुरु गरेको छ ।
२०८२ भदौमा भएको आन्दोलनका क्रममा क्षति पुगेपछि लामो समयदेखि वेवारिसे अवस्थामा रहेको उक्त भवन भत्काउने जिम्मा सेसिका सप्लायर्सले पाएको हो । एक वर्षभन्दा बढी समयदेखि अलपत्र परेको पुरानो भवन हटाएसँगै महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणको प्रक्रियालाई फेरि गति दिने तयारी गरेको छ । २०८२ को अप्रिय घटनापछि महानगरपालिकाले नयाँबजारमा मासिक ७ लाख ५४ हजार रुपैयाँ भाडा तिरेर अस्थायी रूपमा सेवा प्रवाह गरिरहेको छ । भाडाको उच्च भार कम गर्न महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेको हो । महानगरले शुरुमा पोखरा–१७, बिरौटामा करिव २ अर्ब रुपैयाँको लागतमा सुविधासम्पन्न प्रशासनिक केन्द्र बनाउने योजना अघि सारेको थियो । तर संघीय र प्रदेश सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसक्नु र महानगरको आफ्नै आर्थिक स्रोतको सीमितताका कारण उक्त महत्वाकांक्षी योजना लामो समयसम्म अलपत्र परेको थियो । योजनामा ढिलाइ भएपछि महानगरले लागत कटौती गर्दै कार्यपालिका बैठकबाट नयाँ डीपीआर स्वीकृत गरेको छ । अब ६५ करोड रुपैयाँको अनुमानित लागतमा भवन निर्माण अघि बढाउने तयारी छ । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीकाअनुसार नयाँ डीपीआरअनुसार अब छिट्टै निर्माण प्रक्रिया अघि बढ्नेछ ।
यद्यपि, नयाँ भवन निर्माण भएपनि सबै सेवाहरू एकै स्थानबाट प्रवाह हुने छैनन् । योजनाअनुसार कृषि महाशाखा मालेपाटन र स्वास्थ्य महाशाखा साविकको लेखनाथ नगरपालिकाको भवनबाटै सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ । यसले सेवाग्राहीलाई कस्तो असर पार्छ भन्ने विषय अझै प्रतिक्षाको विषय बनेको छ । –न्युज एजेन्सी नेपाल