काठमाडौं उपत्यकामा लामो समयदेखि श्रृंखलावद्ध लुटपाट, मोटरसाइकल चोरी र सुनका गरगहना लुट्ने कार्यमा सक्रिय ‘माझी गिरोह’का मुख्य नाइके आयन माझीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुराकीका आधारमा सञ्चालन गरेको अप्रेसनका क्रममा प्रहरीमाथि नै धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएर मुख्य अभियुक्त माझीलाई नियन्त्रणमा लिएको हो । बिहीवार आयोजित पत्रकार सम्मेलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीलिप घिमिरेकाअनुसार पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्ने २४ वर्षीय आयन माझी र उनका सहयोगीहरू मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान तथा ३४ वर्षीय राकेश थिङ रहेका छन् । प्रहरीले उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा यो समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहान र रातिको समयमा एक्लै हिँड्ने सर्वसाधारणलाई तारो बनाउने गरेको खुलेको छ । उनीहरूले ठेगाना सोध्ने बहानामा महिला तथा पुरुषहरूलाई नियन्त्रणमा लिई सिक्री लुटपाट गर्ने र फरार हुने क्रममा पटक–पटक सवारी साधन परिवर्तन गर्ने शैली अपनाउँदै आएका थिए । यो समूहले हालसम्म १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरिसकेको र विभिन्न स्थानमा लुटपाटका २७ भन्दा बढी मुद्दामा संलग्न रहेको पाइएको छ ।
अभियुक्त माझी यसअघि पनि पटक–पटक डाँका तथा चोरी मुद्दामा कारागार बसेर छुटेका व्यक्ति हुन् । उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र धारिलो हतियार (खुकुरी) बरामद गरिएको घिमिरेले बताउनु भयो । प्रहरीले गिरोहका अन्य सदस्यहरूको खोजी कार्य तिब्र पारेको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल