नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताउँदै अबका दिनमा काँग्रेस आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त भएर जनसरोकारका विषयमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी मतगणनाका क्रममा उहाँले पार्टीलाई चुनावी मोडमा लैजान र जनताको विश्वास जित्न संगठनलाई थप सुदृढ बनाउनु अपरिहार्य रहेको बताउनुभएको हो । उपसभापति भुसालले काँग्रेसको गौरवपूर्ण इतिहास र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाउँदै मुलुकका आर्थिक, सामाजिक र राष्ट्रिय मुद्दाहरूमा पार्टीले सशक्त भुमिका खेल्ने स्पष्ट पार्नुभयो । विगतको निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसक्नुमा संगठन परिचालनको अभाव, समयको कमी र आन्तरिक गुटबन्दी मुख्य कारण रहेको स्वीकार गर्दै उहाँले अब त्यस्तो कमजोरी दोहोरिन नदिने बताउनु भयो । पार्टीका वरिष्ठ र बौद्धिक नेताहरूको व्यवस्थापनका सम्बन्धमा सोधिएको प्रश्नमा उपसभापति भुसालले सबै नेताहरूको भूमिका र योगदानको उच्च सम्मान गरिने बताउनु भयो ।
उपसभापति भुसालले भन्नुभयो, ‘नेपाली काँग्रेसले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ । अब संगठनलाई एकतावद्ध, बलियो र ऊर्जावान बनाउँदै जनसरोकारका मुद्दामा केन्द्रित हुनुपर्छ । सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र जनताका समस्यामा पार्टीले आफ्नो दृष्टिकोण भाषणमा मात्र होइन, कामबाट देखाउन आवश्यक छ । मलाई पूर्ण विश्वास छ । विशेष महाधिवेशनका बेला समय अभाव, संगठनात्मक कमजोरी र पार्टीभित्रको गुट–उपगुटका कारण अपेक्षाअनुसार परिणाम आउन सकेन । अब ती कमजोरी सुधार्दै संगठनलाई केन्द्रदेखि गाउँसम्म सक्रिय बनाउनुपर्छ । आगामी निर्वाचनमा उम्मेदवार मात्र होइन, सिंगो संगठन चुनावमा होमिएको अनुभूति जनतालाई गराउनुपर्छ । विशेष महाधिवेशनपछि देखिएको कानूनी विवाद अब समाप्त भएको छ । असहमति राख्ने र महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्छ । अब जनजीविका, आर्थिक विकास, राष्ट्रिय राजनीति, विदेश नीति र संविधानवादजस्ता विषयलाई प्राथमिकता दिँदै काम गर्ने पर्याप्त समय छ । उहाँहरूको अनुभव, क्षमता र योगदान पार्टीका लागि महत्वपूर्ण छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूको आ–आफ्नो भूमिका हुनेछ । अहिले जिम्मेवारीमा पुग्न नसक्नुभएका नेताहरूलाई पनि सम्मानजनक अवसर दिँदै पार्टी संगठन बलियो बनाउन सँगै लिएर अघि बढ्नेछौँ ।’
भुसालकाअनुसार अबको काँग्रेसको ध्यान आगामी निर्वाचनमा जनप्रिय नेतृत्व छनोट गर्ने, संविधानवादको रक्षा गर्ने र राष्ट्रिय आर्थिक मुद्दाहरूमा स्पष्ट नीति तय गर्दै जनताको केन्द्रबिन्दुमा रहने कुरामा केन्द्रित हुनेछ । कानूनी र राजनीतिक विवादहरू समाधान भइसकेकाले अब पार्टी पूर्ण रूपमा एकताबद्ध भएर अगाडि बढ्ने उहाँको दाबी छ । –न्युज एजेन्सी नेपाल