नेपालीहरुको महान पर्व बडादशैँ (आज) आईतवार घटस्थापनाका साथ देशभर शुरु भएको छ ।
मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधामका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ भने तान्त्रिक विधिअनुसार घटस्थापना गरी नवरात्रिको पूजा आरम्भ गरिएको छ । दशैँको पहिलो दिन, जनकपुरधामस्थित ऐतिहासिक राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिँगारिएको छ । मन्दिर परिसरहरूमा बिहानैदेखि श्रद्धालुहरू पूजा–अर्चना र दर्शनका लागि पुगिरहेका छन् । राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा–आजा गर्ने परम्परा रहेको छ । मन्दिरका पुजारीहरूकाअनुसार तान्त्रिक पद्धति अपनाउँदै आज बिहान शुभ साइतमा गणेश कलश, भैरव कलश र दुर्गा कलश स्थापना गरिएको छ । यससँगै माता दुर्गाको आह्वान गरी वैदिक मन्त्रोच्चारणका साथ पूजा शुरु गरिएको हो । जनकपुरका शक्तिपीठहरूमा दशैँको अवसरमा हुने विशेष पूजा विधि हेर्नका लागि टाढा–टाढाबाट भक्तजनहरू आउने गर्दछन् । मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको भीडलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको व्यवस्था मिलाइएको जनाएको छ । नवरात्रको नौ दिनसम्म देवीका विभिन्न स्वरूपहरूको आराधना गरिने भएकाले मन्दिरहरूमा धार्मिक चहलपहल थप बढेको छ । –न्युज एजेन्सी नेपाल