जापानका लागि प्रश्तावित राजदुत जिज्ञानकुमार थापाको स्पष्टीकरणः ‘मेरो ध्यान नेपालको हितमा मात्र’

.

जापानका लागि नेपालका प्रश्तावित राजदुत जिज्ञानकुमार थापाले आफूमाथि लागेका पिआर (स्थायी आवासीय अनुमति) र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लगायतका आरोपहरूको खण्डन गर्नुभएको छ ।
बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा थापाले आफूले जापानको पिआर त्यागेर नेपालको राष्ट्रिय हितमा काम गर्ने उद्देश्यका साथ अगाडि बढेको दाबी गर्नुभएको हो । संसदीय समितिको बैठकमा थापाले जापानमा आफू र आफ्नो परिवारको हैसियतबारे उठाइएका प्रश्नहरूको विस्तृत जवाफ दिनुभयो । उहाँले जापानस्थित नेपाली राजदुतावासले त्यहाँको अध्यागमन विभागमार्फत आफ्नो पिआर त्यागेको लिखित जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको स्पष्ट पार्नुभयो । आफ्नो पारिवारिक अवस्थाबारे बोल्दै उहाँले आफू र परिवार कानूनी र भावनात्मक रूपमा नेपालसँगै जोडिएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो श्रीमती र छोराछोरीको त्यहाँको बसाइ भिसाको एक प्रकार मात्र हो, उनीहरू नेपाली नागरिक नै हुन् । म कुनैपनि स्वार्थ बाझिने काम गर्दिनँ । मेरो उद्देश्य दुई देशको सम्बन्धलाई थप बलियो बनाउने र नेपालको विकासमा जापानको सहयोग बढाउने हो ।’
जापानमा आफ्नो स्वामित्वमा रहेको घरबारे उठाइएका प्रश्नमा ण्ण्ठणँले सो घर कानूनी रूपमा श्रीमतीको नाममा रहेको र आफ्नो कुनै व्यवसायिक स्वार्थ नरहेको स्पष्ट पार्नुभयो । थापाले दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधार गर्न आफ्नो लामो अनुभव र जापानसँगको पहुँच फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुटनीतिक मर्यादाभित्र रहेर आफूले जापानमा रहँदा पनि नेपालको हितमा निरन्तर काम गरेको उल्लेख गर्दै यदि अनुमोदन भएमा राष्ट्रको सर्वोपरी हितलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । –न्युज एजेन्सी नेपाल