नेपाली काँग्रेसका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीलाई ढिक्का बनाएर नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउँनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको १५ औँ महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उनीहरूको भनाइ छ । काँग्रेस केन्द्रिय सदस्य खड्गबहादुर शाहीले काँग्रेसप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो । काँग्रेसको नयाँ नेतृत्वले युवा पुस्ताको भावना, राजनीतिक चेतना र पछिल्लो समय युवाहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्नुपर्ने उहाँको भनाई छ । पार्टीको विधान, नीति र कार्यदिशामा परिवर्तन गर्दै देश र जनताको आवश्यकताअनुसार शासन सञ्चालन गर्ने सोचका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन कांग्रेसले प्रभावकारी प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनु भयो । चाडपर्वका बेला हवाई तथा सडक यातायातको भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण समस्यामा परेको उल्लेख गर्दै उहाँले सरकारले महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले जनताका समस्यालाई बेवास्ता गरे कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने उहँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस एउटा नयाँ ढङ्गले, नयाँ विचार, नयाँ सोचका साथ अगाडि बढ्नका लागी हामीले पार्टीको विधानदेखि लिएर सम्पूर्ण सबै नीतिहरू बदलेका छौ । नयाँ ढङ्गले जानुपर्छ भन्ने किसिमको हामीले अभिलाषा राखेका छौ । वास्तवमा देश र जनतालाई सुहाउँदो किसिमको व्यवस्था, देश र जनतालाई सुहाउँदो किसिमको एउटा शासन व्यवस्था सञ्चालन गरेर अगाडि बढ्नुपर्छ । कांग्रेस अहिले सत्तामा छैन । नेपाली काँग्रेस अहिले सत्तामा छैन, प्रतिपक्षको भूमिका निर्वाह गर्ने कुराहरू हाम्रा ढङ्गले छँदैछ । हामीले अहिले मात्रै होइन, हिजोदेखि नेपाली काँग्रेसले नेपाली जनताका प्रति आवाज उठाउँदै आइरहेको छ । नेपाली जनताको पीर मर्कालाई साँच्चिकै मनन गर्ने पार्टी नेपाली काँग्रेस भएका नाताले अहिले पनि महँगी चरमचुलीमा पुगेको छ, नेपाली जनताको चुलोमा आगो बलेको छैन । नेपाली जनताले दुःख पाइरहेका छन्, कष्ट पाइरहेका छन् । जुन हुटहुटी बोकेर आएको पार्टी अहिले सत्ता सञ्चालन गरिरहेको छ । उसले हिजो सत्तामा जानका निम्ति जुन ढङ्गका नाराहरू दिएको थियो, ती परिणाममुखी भएका छैनन् र उल्टो किसिमले सरकार चलिरहेको छ । नेपाली जनताको चाडपर्वको बेला आएर प्लेन भाडादेखि लिएर गाडी भाडादेखि लिएर हरेक किसिमको महँगी भएको छ । महँगी धेरै भएको छ । त्यसकारण महँगी नियन्त्रण गरेर नेपाली जनताप्रति सुख–शान्ति–समृद्धि दिने किसिमको बाटोमा जानुपर्छ । जनताले दुःख पाए, कष्ट पाए, पीर पाए र यो पीरबाट मुक्ति गर्नका निम्ति नयाँ ढङ्गले जानुपर्छ ।’
कांग्रेस केन्द्रिय सदस्य मिर्शाद अन्सारीले काँग्रेसले युवाहरूको भावना र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताउनु भयो । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई काँग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाई छ । मधेसका मुस्लिम समुदायलगायत विभिन्न समुदायका समस्या पहिचान गरी तिनको समाधानका लागि आफूले पनि पहल गर्ने उहाँले बताउनु भयो । कांग्रेसलाई गाउँगाउँसम्म सशक्त संगठनका रूपमा विस्तार गर्दै पार्टीका विचार र कार्यक्रम जनतामाझ पु¥याउने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मधेसमा मुस्लिम समुदायका विभिन्न मुद्दाहरु छन्, त्यो मुद्दाहरुलाई उठान गरेर र यसलाई इम्प्लिमेन्टतिर लैजाने हाम्रो सोच हुनुपर्छ । युवाहरुको राजनीतिक प्रति वितृष्णा बढेको देखिन्छ, यसलाई सम्बोधन गर्नुपर्छ । युवाहरुको मनोभावना र उहाँहरुको सोच्ने दृष्टिकोणलाई अंगीकार गरेर हामीहरु अगाडि बढ्छौँ ।’
काँग्रेस नेता लेखनाथ पोखरेलले नयाँ नेतृत्वले सरकारका सकारात्मक काममा रचनात्मक सहयोग गर्ने र गलत कार्यको आलोचना गर्ने गरी जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीले राजनीतिक तथा निर्वाचनसम्बन्धी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने पनि बताउनु भयो ।
पाल्पा काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जनसरोकारका मुद्दालाई पार्टीको नीति र कार्यक्रमको केन्द्रमा राख्नुपर्ने बताउनु भयो । जलवायु परिवर्तनलगायतका विषयलाई प्राथमिकतामा राख्दै जनताका दैनिक समस्या सम्बोधन गर्ने कार्यक्रम अघि बढाउनुपर्ने उहाँको भनाई छ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा काँग्रेसलाई लोकप्रिय र ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नयाँ नेतृत्वले प्रभावकारी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काँग्रेस नेतृ सरस्वती अर्याल तिवारीले आगामी स्थानीय निर्वाचनअघि पार्टीभित्रका असन्तुष्टि र फरक धारमा रहेका नेताहरूलाई समेटेर काँग्रेसलाई एकतावद्ध बनाउनुपर्ने बताउनु भयो । देशभर एउटै उद्देश्य र साझा सन्देशका साथ पार्टी परिचालन गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।
काँग्रेस नेतृ सनम विकले नयाँ र पुरानो पुस्ताबीच सहकार्य गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । आन्तरिक प्रतिष्पर्धाभन्दा अन्य राजनीतिक दलसँग प्रतिष्पर्धा गर्न संगठन बलियो बनाउनुपर्ने उहाँको भनाई छ ।
कांग्रेसका युवा नेता समुन्द्र पोखरेलले वडा तहदेखि नै युवाहरूलाई नेतृत्वमा आउने अवसर दिनु सकारात्मक भएको बताउनु भयो । उहाँले युवा रोजगारी र उनीहरूका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसको १५ औँ महाविधेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ । नयाँ नेतृत्वको लागी भएको निर्वाचनको मतगणना पार्टी कार्यलयमा भइरहेको छ । अधिकांश पदाधिकारीहरुको मतपरिणाम सार्वजानिक भइसकेको छ भने केही समावेशीतर्फका सहमहामन्त्री र विभिन्न क्लष्टर तथा खुला केन्द्रिय सदस्यको अन्तिम नतिजा आउन बाँकी छ । –न्युज एजेन्सी नेपाल