वर्गीय विभेद घटे पनि जातीय असमानता कायमैः पूर्वअर्थमन्त्री खतिवडा

.

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताउनुभएको छ ।
एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले नेपाली समाजको वर्ग संरचना हेर्दा जातीय तथा लैंगिक विभेदलाई समेत हेरिनुपर्ने बताउँदै अझै पनि त्यस्ता अवशेष रहेको बताउनुभएको हो । उहाँले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रमसँगै परम्परागत वर्गहरू रूपान्तरित भइरहेको र नयाँ वर्गको उदय भइरहेको समेत बताउनु भयो । जात र वर्ग सामाजिक संरचनाका भिन्न पक्ष भए पनि नेपाली समाजमा यी बीच प्रत्यक्ष सम्बन्ध रहेकाले समाजको अध्ययनमा दुवैलाई आधार बनाउनुपर्ने उहाँको भनाइ थियो । खतिवडाले राज्यबाट प्राप्त हुने संरक्षण, राजकीय अवसर, सुविधा तथा सहुलियत वर्गीय अवस्थाभन्दा जातजाति र समुदायका आधारमा निर्धारण हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसले निम्न वर्गको संरक्षण र सहयोग कमजोर हुँदै जाने जोखिम रहेको बताउनु भयो । उहाँकाअनुसार राजनीतिक दलहरूको वर्गीय पक्षधरता पनि स्पष्ट हुन सकेको छैन् ।
आधुनिक ज्ञानमा आधारित अर्थतन्त्रमा बौद्धिक सम्पती, प्राविधिक ज्ञान, सीप तथा अन्वेषण नयाँ वर्ग निर्माणका महत्त्वपूर्ण आधारका रूपमा विकसित हुँदै गएको बताउँदै उहाँले बदलिँदो अर्थतन्त्रअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
खतिवडाका अनुसार नेपालका करिव ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन । कृषि क्षेत्रको मौद्रीकरण र व्यावसायीकरण अझै पूर्ण हुन सकेको छैन ।  कृषिमा शोषणयुक्त लेनदेन सम्बन्ध कायम रहनुका साथै कृषिलाई व्यावसायिक अवसरभन्दा बाध्यताका रूपमा लिने प्रवृत्ति पनि कायमै रहेको उहाँको भनाइ थियो ।
खतिवडाले भन्नुभयो,‘नेपाली समाजको विकासक्रमसँगै वर्ग संरचनामा निरन्तर परिवर्तन भइरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रममा माकर््सवादी विश्लेषणअनुसार परम्परागत वर्गहरू रूपान्तरित हुँदै गएका छन् भने नयाँ वर्गको समेत उदय भइरहेको छ । नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्दा लामो समयदेखि कायम जातीय तथा लैङ्गिक विभेदलाई पनि समेट्नुपर्ने देखिन्छ । जात र वर्ग सामाजिक संरचनाका भिन्न पक्ष भए पनि नेपाली समाजमा यीबीच प्रत्यक्ष सम्बन्ध रहेकाले समाजको अध्ययनमा दुवै पक्षलाई आधार बनाउनुपर्नेमा जोड दिइएको छ । पछिल्लो समय राज्यबाट प्राप्त हुने संरक्षण, राजकीय अवसर, सुविधा तथा सहुलियत वर्गीय अवस्थाभन्दा जातजाति र समुदायका आधारमा निर्धारण हुने प्रवृत्ति बढेको विश्लेषण गरिएको छ । यसले निम्न वर्गको संरक्षण र सहयोग कमजोर हुँदै जाने जोखिम बढाएको छ । साथै, जातीय आरक्षणका विद्यमान विधि तथा समाजलाई वैज्ञानिकभन्दा परम्परागत दृष्टिकोणबाट व्याख्या गर्ने प्रवृत्तिले नेपालको राजनीतिमा समस्या बढाएको र राजनीतिक दलहरूको वर्गीय पक्षधरता स्पष्ट हुन नसकेको उल्लेख गरिएको छ । आधुनिक ज्ञानमा आधारित अर्थतन्त्रमा बौद्धिक सम्पत्ति शक्तिशाली, उत्पादक तथा उच्च प्रतिफल दिने सम्पत्तिका रूपमा स्थापित हुँदै गएको छ । त्यसैले नयाँ अर्थतन्त्रको स्वरूपअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको विश्लेषण गर्दा भौतिक सम्पत्तिसँगै बौद्धिक तथा प्राविधिक ज्ञान, सीप र अन्वेषणबाट आर्जित सम्पत्तिलाई पनि महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने देखिएको छ । वर्गीकरणअनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन् । अल्पविकसित मुलुकहरूको अवस्थासँग तुलना गर्दा पनि यो वर्गीकरण समान देखिएको विश्लेषण छ । कृषि क्षेत्रमा केही परिवर्तन आए पनि यसको मौद्रीकरण र व्यावसायीकरण पूर्ण रूपमा हुन सकेको छैन । कृषिमा शोषणयुक्त लेनदेन सम्बन्ध कायम रहनुका साथै कृषिलाई व्यावसायिक अवसरभन्दा बाध्यताका रूपमा लिने प्रवृत्ति पनि कायमै छ । नेपाली समाजमा अपवादबाहेक कथित उच्च जातको राजनीतिक, आर्थिक तथा सामाजिक हैसियत कथित तल्लो जातको तुलनामा माथि रहेको विश्लेषण गरिएको छ । आर्थिक तथा सामाजिक रूपमा वर्गीय विभेद केही कम हुँदै गए पनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष कायम छन् । कतिपय अवस्थामा जातीय आधारलाई समेत समेटेर वर्ग विश्लेषण गर्दा नेपाली समाजको वास्तविक अवस्था बुझ्न सहज हुने देखिन्छ । सामन्तवादको अन्त्य हुँदै पुँजीवादले आकार लिइरहेको संक्रमणकालीन अवस्थामा वित्तीय, बौद्धिक तथा प्रविधिजन्य सम्पत्ति नयाँ वर्गको उदयका प्रमुख कारक बनेका छन् । मध्यम वर्गको विस्तार भइरहे पनि यो वर्ग अझै निम्नमध्यम वर्गको दायराबाट उल्लेख्य रूपमा माथि उठ्न नसकेको विश्लेषण गरिएको छ ।’
उहाँले आर्थिक तथा सामाजिक रूपमा वर्गीय विभेद केही कम हुँदै गएपनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष कायम रहनु दुखद रहेको बताउनु भयो । खतिवडाका अनुसार सामन्तवादको अन्त्य र पुँजीवादको विकासबीचको संक्रमणकालीन अवस्थामा वित्तीय, बौद्धिक तथा प्रविधिजन्य सम्पत्ति नयाँ वर्गको उदयका प्रमुख कारक बनेको छ । मध्यम वर्गको विस्तार भएपनि अपेक्षित रूपमा माथि उठाउने योजनाहरु बनाउन जरुरी रहेको उहाँको भनाई रहेको छ । –न्युज एजेन्सी नेपाल