नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने

.

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ ।
क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताउनु भयो । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै क्यान सचिव खड्काले एनपीएललाई निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस प्रविधि भित्र्याउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । यद्यपि यसको आधिकारिक निर्णय भने प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उहाँले प्रष्ट पार्नुभयो । डीआरएस लागू गर्दा म्याचको समय आधा घण्टासम्म लम्बिन सक्ने भएकाले प्रतियोगिताको खेल तालिकामा केही हेरफेर हुनसक्ने देखिएको बताउनु भयो । हाल निर्धारित कार्यतालिकाअनुसार खेल दिउँसो साढे ४ बजे शुरु गर्ने योजना रहे पनि डबल हेडर (एकै दिन दुई खेल हुने) दिनहरूमा समय व्यवस्थापनका लागि केही फेरबदल गर्नुपर्ने अवस्था आउन सक्ने खड्काले बताउनु भयो । म्याच सकिने समय बेलुका सवा ७ देखि साढे ७ अनुमान गरिएकोमा डीआरएसका कारण ८ देखि सवा ८ सम्म पुग्न सक्ने आँकलन गरिएको छ ।
चिसो मौसम र शीत (ड्यू) को प्रभावलाई समेत दृष्टिगत गर्दै खेल केही छिटो शुरु गर्ने विकल्पमा पनि छलफल भइरहेको छ । डीआरएस प्रविधि जडानका लागि लाग्ने करिव डेढदेखि दुई करोड रुपैयाँ खर्चको व्यवस्थापन क्यान र सहभागी आठवटै फ्रान्चाइजी टोलीहरूले संयुक्त रूपमा वहन गर्ने योजना छ । कमर्सियल मिडिया राइट्सबाट आउने ५० प्रतिशत आम्दानी बाँडफाँडको हिस्साबाट यो खर्च समायोजन गरिनेछ । जसले गर्दा कुनै एकल पक्षमाथि आर्थिक भार नपर्ने सचिव खड्काको भनाइ छ । क्रिकेट समर्थक, सहभागी टोली र समग्र नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो प्रविधि अत्यावश्यक रहेको उल्लेख गर्दै क्यानले प्रक्रिया टुंगो लागेपछि सबै विवरण सार्वजनिक गर्ने जनाएको छ । –न्युज एजेन्सी नेपाल