चाडपर्वमा काठमाडौं उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र

.

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक दुर्घटनाका घाइते, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीका लागि रगतको अभाव नरहेको बताएको छ ।
सोमवार न्युज एजेन्सीसँग कुरा गर्दै केन्द्रका प्रतिनिधि सञ्जीव यादवले हाल केन्द्रसँग रगतको अभाव नरहेको दाबी गर्नुभएको हो । उहाँले चाडपर्वको समयमा रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यसअघि नै रक्तदान शिविर सञ्चालन गरी रगत संकलन गरिएको बताउनु भयो । यद्यपि नेगेटिभ समूहको रगतको माग आएमा व्यवस्थापनमा कठिनाइ हुने उहाँले बताउनु भयो । केन्द्रले नेगेटिभ समूहको रगत संकलन गरेर नराख्ने भएको कारण तत्काल उपलब्ध गराउन सकस पर्ने उहाँको भनाइ छ । उयादवका अनुसार दशैँका समयमा नियमित स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भएपनि आकस्मिक उपचारका लागि आवश्यक पर्ने रगतको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । चाडपर्वमा सडक दुर्घटना, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीलाई रगतको अत्यधिक आवश्यकता पर्ने भएकाले त्यस्ता अवस्थालाई सम्बोधन गर्न केन्द्रले पर्याप्त रगत सञ्चित गरेर राखेको उहाँले बताउनु भयो । सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै रगतको मौज्दात व्यवस्थापन गर्नुका साथै आवश्यक परेमा तत्काल ताजा रगत उपलब्ध गराउन सक्ने गरी थप रक्तदातासँग समेत समन्वय गरिएको उहाँको भनाइ छ । उहाँले आकस्मिक अवस्थामा रगतको माग बढेमा त्यसलाई सम्बोधन गर्न नियमित रक्तदातासँग सम्पर्क र समन्वय गरिएको पनि बताउनु भयो । उहाँले रगतको उपलब्धता अझै सहज बनाउन रक्तदान गर्न समेत आम नागरिकलाई अनुरोध गर्नुभयो । उहाँले चाडपर्वको समयमा सेवा प्रवाह प्रभावित नहोस् भनेर आवश्यक पर्ने जनशक्तिको संख्याका आधारमा नियमित रोस्टर तयार गरी काम भइरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रगतको उपलब्धता आजको मितिमा हामीसँग सहज रहेको छ । चाडपर्वहरु र यसभन्दा पहिले रसुवाको भोटेकोशीलगायत नदीमा ठूलो बाढी समेत गएको भएर यो समयमा रगतको अभाव नहोस् भनेर हामीले निरन्तर क्याम्पहरू चलायौँ । त्यो क्याम्पबाट संकलित रगत हामीले बडादशैंमा केही अप्ठ्यारो नहोस् भनेर हामीले राखेका छौँ । यो बेलामा हुन सक्ने आकस्मिकता रोड एक्सिडेन्ट, डेलिभरी र नियमित डायलासिसमा रहेको बिरामीहरू रगतको अत्याधिक आवश्यकता हुन्छ । धेरै सेवाहरु बन्द हुने भएपनि एकदमै इमर्जेन्सी सेवाको लागि हामीसँग रगत छ । र त्यसको लागि हामीले केही रक्तदाताहरूसँग पनि कुरा गरेर बसेका छौँ । उहाँहरूले पनि तत्परता देखाउनुभएको छ । केही त्यस्तो भइहाल्यो भने हामीले र केही हाम्रो आर्मी र प्रहरी जवानहरुसँग पनि कुरा भएको छ । हामीसँग दक्ष जनशक्ति पनि पर्याप्त छ । चाडपर्वको समयमा नियमित रोस्टर बनाएर कुन डिपार्टमेन्टमा कति जना आवश्यक हुन्छ, त्यही अनुसार मिलाएका छौँ । चाडपर्वमा यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने रगतको अझ सहजताका लागि रक्तदान गर्र्न अपिल गर्न चाहान्छु । हामीसँग अहिले रगतको अभाव छैन । तर नेगेटिभ ग्रुपको रगतको डिमाण्ड आयो भने सकस नै पर्छ । हामीले नेगेटिभ समूहको मान्छेको रगत लिँदैनौँ । यसमा अलि समस्या हुन्छ । अरु त्यस्तो केही पनि सकस्या छैन ।’
हाल रगतको अभाव नरहे पनि आकस्मिक आवश्यकता जुनसुकै समयमा उत्पन्न हुनसक्ने भएकाले रक्तदान अभियानलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल