केन्यामा एक अस्पताल सहयोगीमा इबोला भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या आठ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४९ वर्षीय ती पुरुषमा ज्वरो, टाउको दुखाइ र मांसपेशी दुख्ने लक्षण देखिएपछि गरिएको परीक्षणमा ‘बुन्डिबुग्यो स्ट्रेन’ को इबोला पुष्टि भएको हो । केन्याको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. प्याट्रिक अमोथले स्थानीय सिटिजन टिभीसँग कुरा गर्दै नयाँ संक्रमित व्यक्तिलाई तुरुन्तै आइसोलेसनमा राखिएको र उपचार प्रक्रिया शुरु गरिएको जानकारी दिनुभएको छ । आईतवार परीक्षण गरिएका ३८ जनामध्ये ती सहयोगीको नतिजा मात्र पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । डा. अमोथकाअनुसार यसअघि संक्रमण पुष्टि भएका अन्य सातै जना बिरामीलाई ‘मोनोक्लोनल एन्टिबडिज’ दिइएको छ र उनीहरूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरूबाट समुदायस्तरमा रोग सर्ने सम्भावना निकै न्युन रहेकाले सर्वसाधारणलाई नआत्तिन मन्त्रालयले आग्रह गरेको छ । यसअघि शनिवार मात्रै चार जनामा संक्रमण पुष्टि भएको थियो, जसमा पहिलो संक्रमित बिरामीका एक पुरुष नातेदार र उनको उपचारमा संलग्न तीन जना स्वास्थ्यकर्मी रहेका थिए । स्वास्थ्य निकायहरूले संक्रमण थप फैलिन नदिन कन्ट्याक्ट ट्रेसिङलाई तिब्र बनाएका छन् । अक्टोबर १७ सम्म पहिलो बिरामीको सम्पर्कमा आएका १३० जनामध्ये १२८ जनाको पहिचान गरी क्वारेन्टिनमा राखिएको मन्त्रालयले जनाएको छ । केन्यामा इबोलाको पहिलो केस गत अक्टोबर ६ मा पुष्टि भएको थियो। डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) बाट अक्टोबर ३ मा राजधानी नैरोबी आइपुगेका एक केन्याली नागरिकमा पहिलो पटक यो भाइरस देखिएको थियो । ती बिरामीको उपचारका क्रममा नैरोबीस्थित अस्पतालमा मृत्यु भएपछि सुरक्षित तवरले अन्त्येष्टि गरिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) काअनुसार हाल केन्यामा देखिएको बुन्डिबुग्यो स्ट्रेनका लागि हालसम्म कुनै प्रमाणित खोप वा निश्चित उपचार उपलब्ध छैन । यद्यपि, केही सम्भावित औषधि तथा खोपहरू क्लिनिकल परीक्षणको क्रममा रहेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।