चाडपर्व केन्द्रित ‘प्रोएक्टिभ पोलिसिङ’ तथा आधुनिक प्रविधिको सघन उपयोगका कारण यस वर्षको बडादशैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको र ठूला आपराधिक घटनाहरू नियन्त्रणमा आएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सिन्धुलीको सुनकोशी नदीमा भएको एउटा यात्रुवाहक सुमो दुर्घटनाबाहेक यस अवधिमा ठूलो जनधनको क्षति हुनेगरी अन्य गम्भीर घटना नभएको स्पष्ट पार्नुभएको हो । सुनकोशी दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना बेपत्ता र चार जना घाइते भएको विवरण दिँदै उहाँले त्यसबाहेक देशभर समग्र सडक सुरक्षा सन्तोषजनक रहेको बताउनु भयो । प्रवक्ता काफ्लेकाअनुसार चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन सिसीटिभी, ड्रोन, तालिमप्राप्त कुकुर, सादा पोशाकका टोली र द्रुत कार्य टोली (क्युआरटी) परिचालन गरिएको छ । राजमार्गहरूमा आकस्मिक अवरोध आउन नदिन नागढुङ्गा, गजुरी, मुग्लिङ र हेटौँडाजस्ता संवेदनशील खण्डहरूमा हेभी इक्युपमेन्ट र प्राविधिक जनशक्तिसहित २४ सै घण्टा प्रहरी टोली तैनाथ गरिएको छ । यातायात व्यवसायीहरूसँगको समन्वयका कारण सिट क्षमताभन्दा बढी यात्रु चढाउने र टिकटमा कालोबजारी गर्ने प्रवृत्तिमा यसपटक उल्लेख्य कमी आएको प्रहरीको भनाइ छ । त्यस्तै, समुदाय–प्रहरी साझेदारी र सचेतनामूलक अभियानका कारण चाडपर्वमा घर बन्द गरेर हिँड्दा हुने चोरी तथा लुटपाटका घटनामा पनि उल्लेख्य गिरावट आएको जनाइएको छ ।
उहाँले भन्नुभयो, ‘हालसम्म सुनकोशीमा एउटा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन जना बेपत्ता र चार जना घाइते भएको घटना बाहेक ठूलो क्षति हुने अन्य दुर्घटनाको रिपोर्ट प्राप्त भएको छैन । नेपाल प्रहरीले यस वर्षको दशैँ सुरक्षा योजनाअन्तर्गत प्रविधिमैत्री र सक्रिय प्रहरी परिचालनमा जोड दिएको छ । सीसीटीभी, ड्रोन, तालिमप्राप्त कुकुर, सादा पोशाकका प्रहरी तथा क्विक रेस्पोन्स टिम परिचालन गरी राजमार्ग र भीडभाड हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । नागढुङ्गा, गजुरी, मुग्लिङ र हेटौँडालगायत स्थानमा सम्भावित सडक अवरोध हटाउन आवश्यक जनशक्ति र उपकरणसहित प्रहरी परिचालन गरिएको छ । चोरी, लुटपाट, ठगी तथा यात्रु ठगिने घटना नियन्त्रण गर्न सामुदायिक प्रहरी साझेदारी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक नागरिकको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । आम नागरिकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न, मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन, दुईपाङ्ग्रे सवारी चलाउँदा हेल्मेटको फित्ता बाँध्न तथा जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्दछौँ । घर खाली गरेर जाँदा बहुमूल्य सामान सुरक्षित राख्न, छिमेकी तथा स्थानीय प्रहरीलाई जानकारी दिन र सामाजिक सञ्जालमा यात्रा विवरण सार्वजनिक नगर्न पनि आग्रह गर्दछौँ । त्यसैगरी, जुवा–तास, अवैध ओसारपसार, भन्सार छली तथा अन्य आपराधिक गतिविधिमा संलग्न नहुन र त्यस्ता गतिविधिबारे जानकारी भए प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गर्दछौँ । यात्राका क्रममा हुने ठगी, बढी मूल्य असुली वा अन्य गैरकानुनी गतिविधिबारे पनि प्रहरीलाई जानकारी गराउन सकिन्छ । समग्रमा, दशैँ, तिहार, छठ तथा अन्य चाडपर्वलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण बनाउन नेपाल प्रहरीले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको छ । आम नागरिकलाई पनि प्रहरीसँग सहकार्य गर्दै शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन आग्रह गर्दछौँ ।’
प्रहरीले घर खाली गरेर यात्रामा निस्कने नागरिकलाई बहुमूल्य गरगहना र नगद बैंक लकरमा राख्न तथा आफू यात्रामा रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ । साथै, मादक तथा लागुपदार्थ सेवन गरी सवारी नचलाउन, दुईपाङ्ग्रे सवारीमा अनिवार्य हेल्मेटको फित्ता बाँध्न, जुवातास नखेल्न र सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसारविरुद्ध १०० नम्बरमा गोप्य सूचना दिन समेत प्रहरीले अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल