सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

.

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न सरकारसँग माग गरेको छ । काठमाडौंमा दबूको आयोजनामा आज भएको दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलनले १० बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको हो ।

त्यस्तै दबूले भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अविलम्ब आवश्यक कानुन बनाई राष्ट्रियरुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन पनि माग गरेको छ।

दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन–२०७९ काठमाडौं घोषणा पत्र (पूर्ण पाठ)

१.आज भन्दा ९७ वर्ष पहिले वि.सं १९८२ साल (नेपाल संवत १०४५) बुद्ध जयन्तिका दिन शुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुँदैछ। यस ऐतिहासिक अवसरमा २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने यो सम्मेलन घोषणा गर्दछ।

२. विगत ८ वर्षदेखि हरेक वर्ष बुद्ध जयन्तिको अघिल्लो दिन मनाउँदै आइरहेको ‘मातृभाषा पत्रकारिता दिवस’ लाई शताब्दी वर्षदेखि राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गर्दछ।

३.मातृभाषाको पत्रकारिता शुरु भएको १०० वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकासित गर्न सरकार समक्ष माग गर्दै त्यसका लागि पहल गर्ने घोषणा गर्दछ ।

४. वि.सं १९८२ सालमा पहिलो पटक नेपालभाषामा बुद्धधर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारिता मार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पुर्‍याएका इतिहास पुरुष धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई मातृभाषाको पत्रकारिताको प्रेरक व्यक्तिका रुपमा हरेक वर्ष धर्मादित्य धर्माचार्य जन्मजयन्ती मनाउने परम्परा अब सम्पूर्ण मातृभाषी पत्रकार संघसंंस्थाले राष्ट्रिय उत्सवका रुपमा मनाउने यो सम्मेलन घोषणा गर्दछ।

साथै, यो दोश्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सरकार समक्ष निम्न मागहरु राख्दछ ।

५. मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट ‘धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान’ अविलम्ब गठन गर्न यो सम्मेलन माग गर्दछ।

६.मातृभाषामा प्रकाशितरप्रसारित हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट लोक कल्याणकारी विज्ञापनको विशेष व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ।

७. नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न पत्रकारिता पुरस्कारको सवालमा विशेष मापदण्ड बनाई मातृभाषामा पत्रकारिता गर्ने समुदायका पत्रकारलाई अनिवार्य समेट्न यो सम्मेलन सरकारसँग आग्रह गर्दछ।

८. सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ।

९.भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अबिलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन सरकार समक्ष माग गर्दछ।

१०. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरुबाट पुष्टि भइसकेको सन्दर्भमा श्री श्रेष्ठलाई अबिलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरुको सम्मान गर्न पत्रकार महासंघ, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला समक्ष यो सम्मेलन जोडदार माग गर्दछ।