लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
बिहीवार लुम्बिनी प्रदेशमा आयोजित सरकारी कामकाजको भाषासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभामुख घर्तीले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिनुभएको हो । उहाँकाअनुसार विधेयकलाई पूर्णता दिन वागमती र गण्डकी प्रदेशलगायतका अनुभव तथा सुझाव संकलन भइरहेको छ । उहाँले आगामी मंसिरदेखि शुरु हुने हिउँदे अधिवेशनमा सरकारले विधेयक प्रदेशसभामा पेश गर्ने तयारी गरेको बताउनु भयो । विधेयक सदनमा पेश भएपछि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक सुझाव र परिमार्जनसहित विषयगत समितिमा पठाइने उहाँको भनाइ छ । विधेयकलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढाउँदै सबै पक्षको भावना समेट्ने गरी छलफल गरिने सभामुख घर्तीले बताउनु भयो । उहाँले मंसिरमा पेस हुने विधेयक फागुनसम्म पारित गर्ने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आगामी मंसिरदेखि शुरु हुने हिउँदे अधिवेशनमा सरकारी कामकाजको भाषासम्बन्धी विधेयक सदनमा पेश गर्ने तयारी भइरहेको छ । यसका लागि वागमती र गण्डकीलगायत प्रदेशबाट सुझाव सङ्कलन भइरहेको छ । विधेयक सदनमा पेश भएपछि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक परिमार्जन गरिनेछ र विषयगत समितिमा पठाएर लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत सबैको भावना समेटिनेछ । मंसिरमा पेस हुने विधेयक फागुनसम्म पारित गर्ने लक्ष्य राखिएको छ ।’
सरकारी कामकाजको भाषासम्बन्धी कानूनी व्यवस्था निर्माण गर्दा सरोकारवाला पक्षका सुझाव र विभिन्न प्रदेशका अनुभवलाई समेटेर अघि बढाइने उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल