अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले सरकारको बजेट र राजश्वबाट मात्रै मुलुकको पूर्वाधार आवश्यकता पूरा गर्न नसकिने उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट रहे पनि पूर्वाधार मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै रहेको भन्दै उहाँले त्यसबाट हुने वास्तविक पुँजीगत लगानी अझै सीमित हुने बताउनु भयो । वाग्लेले सडक निर्माणदेखि ऊर्जा उत्पादनसम्म निजी क्षेत्रको सहभागितालाई लिएर समाजमा अझै पनि प्रश्न उठ्ने गरेको बताउनु भयो । सबै काम राज्यले नै गर्नुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्ने उहाँको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘हामी सबैको आँखा ७० खर्ब अर्थात् ७ हजार अर्बको अर्थतन्त्रलाई चलायमान गर्नुपर्नेछ । बाँकी अर्थतन्त्र भनेको निजी क्षेत्र नै हो । उहाँहरूलाई आकर्षित नगरिकन पूर्वाधारमा छलाङ मार्न सकिँदैन ।’
सरकारले निजी क्षेत्रलाई पूर्वाधारमा आकर्षित गर्न यस वर्षको बजेटमा विभिन्न आधार तयार गरेको पनि उहाँले बताउनु भयो । हाइब्रिड एन्युटी मोडेल कार्यान्वयनमा लैजाने तयारी भइरहेको र वैकल्पिक विकास वित्त कोषको ऐन पारित भइसकेको उहाँले जानकारी दिनुभयो । उक्त कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया दुईदेखि चार हप्ताभित्र अघि बढ्ने र कोष कार्यान्वयनमा जाने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल