नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासका ठूला परियोजनामा विदेशी लगानीकर्तालाई मात्रै नभई स्वदेशी निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले विदेशी कम्पनीसँगको सहकार्यबाट नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने र भविष्यमा ठूला पूर्वाधार परियोजना आफैँ निर्माण गर्न सक्ने अवस्था बन्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण दिँदै त्यहाँ भारतीय निर्माण कम्पनीलाई विदेशी कम्पनीसँग संयुक्त रूपमा काम गर्ने अवसर दिइएकाले अहिले भारतीय कम्पनीहरू आफैँ मेट्रो निर्माण गर्न सक्षम भएको उल्लेख गर्नुभयो । त्यस्तै, नेपालमा सुरुङ निर्माणका क्षेत्रमा पनि विदेशी कम्पनीसँगको सहकार्यले नेपाली इन्जिनियरको क्षमता विकासमा सहयोग पुगेको उहाँको भनाइ छ । अध्यक्ष श्रेष्ठले नेपालको व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता बढाउन पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनु भयो । भन्सारमा सामान छुटाउन लाग्ने समयदेखि पूर्वदेखि पश्चिमसम्मको यात्रा अवधिसम्मले राष्ट्रिय अर्थतन्त्रको प्रभावकारिता निर्धारण गर्ने उहाँको भनाइ छ । उहाँले नेपालमा पूर्वाधार कमजोर हुँदा व्यवसायको लागत बढ्ने र प्रतिष्पर्धात्मक क्षमता प्रभावित हुने उल्लेख गर्नुभयो । भारतमा दिल्लीबाट जम्मुसम्म पाँच घण्टामा र चण्डीगढसम्म दुई घण्टामा पुग्न सकिने उदाहरण दिँदै पूर्वाधार विकासले आर्थिक गतिविधिलाई तिब्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको आर्थिक विकास र व्यावसायिक प्रतिस्पर्धात्मकता बढाउन पूर्वाधार विकास अपरिहार्य छ । भन्सार प्रक्रिया होस् वा देशको एक भूभागबाट अर्को भूभागसम्मको यात्रा, समय र लागत घटाउनु आजको आवश्यकता हो । यस सम्मेलनमार्फत लगानीयोग्य, व्यावहारिक र अध्ययनमा आधारित परियोजनाहरू पहिचान गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्छ । विदेशी लगानीसँगै स्वदेशी निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न आवश्यक छ । त्यसैगरी, ठूला पूर्वाधार परियोजनामा नेपाली निर्माण कम्पनीहरूलाई संयुक्त लगानी तथा साझेदारीको अवसर प्रदान गर्नुपर्छ । यसबाट नेपाली कम्पनीहरूको क्षमता, प्रविधि र दक्षता अभिवृद्धि हुनेछ ।’
श्रेष्ठले यसपटक सरकारले नेपाल पूर्वाधार सम्मेलनको स्वामित्व लिएर अघि बढाएकोमा स्वागत गर्दै निजी क्षेत्रका तर्फबाट आभार व्यक्त गर्नुभयो । यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघले गर्दै आएको सम्मेलनलाई सरकारले समेत आफ्नो अग्रसरतामा अघि बढाउनु सकारात्मक भएको उहाँको भनाइ छ । उहाँले लगानी सम्मेलनमा विदेशी लगानीकर्तासमक्ष परियोजना प्रश्तुत गर्नुअघि पर्याप्त अध्ययन र तयारी गर्नुपर्नेमा जोड दिनुभयो । लगानीकर्ताले आकर्षक र कार्यान्वयन गर्न सक्ने परियोजना पाउनुपर्ने भन्दै परियोजनाको सम्भाव्यता र व्यावसायिक उपयोगितामा ध्यान दिनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल