१०० अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि पूर्वाधारमा लगानी बढाउनुपर्छः अध्यक्ष पाण्डे

.

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा लगानी बढाउनुका साथै उत्पादन क्षमता विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसलाई सम्बोधन गर्दै उहाँले पूर्वाधार विकासलाई सडक र पुल निर्माणमा मात्रै सिमित नराखी समग्र आर्थिक विकासको श्रृङ्खलाका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले सडक, पुल, प्रसारण लाइन, सिंचाई, औद्योगिक क्षेत्र, गोदाम, डिजिटल सञ्जाल, खानेपानी र व्यवस्थित शहरी विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पूर्वाधार निर्माणसँगै त्यसको सञ्चालन र मर्मतसम्भारलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष पाण्डेले नेपालको १०० अर्ब डलरको अर्थतन्त्र निर्माणसम्बन्धी अध्ययनले लगानी बढाउनुपर्ने र लगानीसँगै उत्पादन क्षमता पनि विस्तार गर्नुपर्ने स्पष्ट सन्देश दिएको बताउनु भयो । उहाँकाअनुसार लगानीको वातावरण निर्माणका लागि स्पष्ट नियम, समयमै निर्णय र भरपर्दो सार्वजनिक सेवा आवश्यक हुन्छ । सरकारले नीतिगत स्थिरता र सहज वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले पुँजी, प्रविधि र उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सिर्जना गर्नुपर्ने उनले बताउनु भयो ।
उहाँले सरकार परिवर्तन भएपनि नफेरिने नीति, अनुमानयोग्य नियम र समयमै हुने निर्णय लगानीकर्ताका लागि सबैभन्दा ठूलो सुरक्षा भएको उल्लेख गर्नुभयो । लगानीकर्ताले दीर्घकालीन योजना बनाउन सक्ने वातावरण निर्माण गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी रहेको उहाँको भनाइ छ । अध्यक्ष पाण्डेले भरपर्दो तथा उत्थानशील पूर्वाधारले अनिश्चितताका कारण लाग्ने खर्च घटाउने, उद्यम विस्तार गर्ने र रोजगारी सिर्जना गर्ने आधार प्रदान गर्ने बताउनु भयो । पूर्वाधार विकासलाई खण्डित रूपमा नभई एकीकृत र पूर्ण शृङ्खलाका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिनुभयो । नेपाल पूर्वाधार सम्मेलनको शुरुवातदेखि नै आफू सहभागी हुँदै आएको उल्लेख गर्दै उहाँले विगतका सम्मेलनमा नेपालको सम्भावना प्रश्तुत गर्ने, लगानी आह्वान गर्ने र नीतिगत सुधारका विषय उठाउने काम भएपनि अपेक्षित नतिजाका लागि नीतिगत बहस, अध्ययन, परियोजना तयारी र कार्यान्वयनलाई एउटै शृङ्खलामा जोड्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न लगानी वृद्धि, उत्पादन क्षमता विस्तार, स्पष्ट नीति, समयमै निर्णय र निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहेको धारणा व्यक्त गरिएको छ । साथै, सरकार परिवर्तन भए पनि नीतिगत स्थिरता, लगानीको सुरक्षा र भरपर्दो सार्वजनिक सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पूर्वाधार सम्मेलन २०२६ डिसेम्बर ९ र १० गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने जानकारी दिँदै सम्मेलनले लगानी, उत्पादन, रोजगारी र आर्थिक समृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।’
यसपटक नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) संयुक्त रूपमा आयोजक बनेको उहाँले जानकारी दिनुभयो । पूर्वाधार विकासमन्त्रीको नेतृत्वमा निर्देशक समिति र सम्बन्धित सचिवको नेतृत्वमा कार्यसमिति क्रियाशील रहेको पनि उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल