सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गाँजा लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले राति करिव १ बजे खोजतलास गरेको थियो । सो क्रममा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीकाअनुसार गाँजा लुकाइएको स्थानमा भने कोही पनि व्यक्ति फेला परेनन् । बरामद पदार्थको विषयमा थप अनुसन्धान भइरहेको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरी गाँजा भारततर्फ तस्करी हुने गरेको बताउनु भयो । दुर्गम नदी क्षेत्रलाई तस्करीको माध्यम बनाउने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ । –न्युज एजेन्सी नेपाल