नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गर्नुभएको छ ।
पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो । उहाँले एमाले कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको बताउनु भयो । उहाँले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतफी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाएपनि फेरि सत्तामा पुग्ने दाबी गर्नुभयो । उहाँले एमाले फेरि सरकारमा फर्किने र देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने बताउनु भयो । उहाँले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट, सङ्घर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । सरकारको नेतृत्व कृपाले, जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा, आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन । फेरि नेकपा एमालेले फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अगाडि सारेको छ नेकपा एमालेले, ती विकासका कामहरूलाई नेकपा एमालेले फेरि अगाडि बढाउँछ । समृद्ध नेपाल सुखी नेपालीको सपना देख्न छोड्दैन, झन् प्रस्ट ढङ्गले देख्छ, झन् दृढताका साथ नेकपा एमाले अगाडि बढ्छ । तसर्थ नेकपा एमाले कतिले अब मजाकको विषय बनाउलान्, फेसबुकमा लेख्लान् । अलिक दिन फेसबुकमा लेख्दै गर, हेर्दाहेर्दै नेकपा एमाले सरकारमा जान्तछ । मैले पहिले पनि भनेको थिएँ एमालेलाई घेराबन्दी हालेर निष्कासन गर्दा, सरकारबाट हटाउँदाखेरि, तर त्यतिबेला संवैधानिक बाटोबाट हटाएका थिए । संवैधानिक बाटोबाटै हामी मूल गेटबाट सिंहदरबार पस्छौँ, जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेटरबाट होइन । मूल ढोकाबाट, मूल बाटोबाट एमाले सिंहदरबार पस्छ भनेर हामीले भनेका थियौँ । फेरि पस्यौँ । फेरि पनि म भन्न चाहन्छु, नेकपा एमाले यो देशको भविष्य हो । नेकपा एमाले यो देशको राष्ट्रियताको रक्षा गर्ने रक्षक हो । यो देशको विकास गर्ने नायक हो नेकपा एमाले। त्यसकारण नेकपा एमाले त्यसैगरी अगाडि बढ्नेछ ।’
सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यलाई लिएर भइरहेको टिप्पणीप्रति कटाक्ष गर्दै ओलीले केही समय फेसबुकमा आलोचना गर्दै बस्न आग्रह गर्नुभयो । यसअघि सरकारबाट हटाइँदा पनि आफूहरूले संवैधानिक बाटोबाटै पुनः सत्तामा फर्किने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले अब पनि फेरि एमाले सिंहदरबारको मूल ढोकाबाट प्रवेश गर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल