काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल

.

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताउनुभएको छ ।
बुधवार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभएको हो । उहाँले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उहाँको भनाइ छ । उहाँले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्रै सिमित नरहेको बताउनु भयो । यसले राजधानी र तराई–मधेसबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, पर्यटन प्रवद्र्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान महत्वपूर्ण हुने राष्ट्रपति पौडेलले बताउनु भयो । आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उहाँले नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगतिले आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा थप विश्वस्त बनाएको बताउनु भयो ।
पौडेलले भन्नुभयो, ‘नेपाली सेनाले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण र विकासका क्षेत्रमा पु¥याउँदै आएको योगदान प्रशंसनीय छ । जटिल भौगोलिक अवस्था र विभिन्न चुनौतीका बाबजुद यस आयोजनामा सेनाले देखाएको दक्षता, कार्यकुशलता र प्रतिबद्धता सराहनीय छ । काठमाडौँ उपत्यकालाई तराई–मधेससँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । यसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई समेत थप मजबुत बनाउनेछ । आज तेस्रो पटक यस आयोजनाको स्थलगत अवलोकन गर्ने अवसर पाउँदा नेपाली सेनाले हासिल गरेको प्रगति र दृढ इच्छाशक्तिबाट म अत्यन्त उत्साहित र विश्वस्त भएको छु । यस राष्ट्रिय गौरवको आयोजना सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाली सेना, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । निर्धारित समयमै आयोजना सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै सबैको आगामी कार्यसफलताको कामना गर्दछु ।’
राष्ट्रपति पौडेलले आयोजना निर्माणमा सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी तथा अन्य सम्बन्धित पक्षले निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै प्रभावकारी समन्वय र प्रतिवद्धताका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले निर्धारित समयभित्रै आयोजना सम्पन्न होस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल