निजी विद्यालयविरुद्धका अपुष्ट आरोपप्रति प्याब्सनको आपत्ति, कानुनी उपचार खोज्ने चेतावनी

.

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा संस्थालाई लक्षित गरी भइरहेका तथ्यहीन, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

प्याब्सन केन्द्रीय कार्यसमितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रताको नाममा अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दन गर्न नहुने जनाएको हो ।

प्याब्सनका महासचिव आरबी कटवालले निजी विद्यालयहरूले नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना तथा दक्ष जनशक्ति उत्पादनमा दशकौंदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ । केही व्यक्तिगत घटना वा अपुष्ट आरोपका आधारमा समग्र निजी शिक्षा क्षेत्रको योगदानलाई अवमूल्यन गर्न नहुने उहाँको भनाइ छ ।

निजी विद्यालयको योगदानको मूल्याङ्कन गर्दा त्यस क्षेत्रमा भएको लगानी, श्रम, जोखिम र जिम्मेवारीलाई समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

‘आलोचना तथ्यमा आधारित हुनुपर्छ र अभिव्यक्ति मर्यादित हुनुपर्छ । अपुष्ट आरोप र व्यक्तिगत लाञ्छनाका आधारमा समग्र संस्थागत विद्यालय क्षेत्र तथा यसका नेतृत्वको प्रतिष्ठामाथि प्रहार गर्नु उचित होइन’, महासचिव कटवालले भन्नुभयो ।

प्याब्सनले विद्यालय सञ्चालकहरू शिक्षक तथा कर्मचारीका पारिश्रमिक, सेवासुविधा, पेशागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा थप जिम्मेवार, पारदर्शी र जवाफदेही हुनुपर्ने स्वीकार गरेको छ । शिक्षक तथा कर्मचारीका जायज गुनासाको निष्पक्ष सम्बोधन, कानुनको पालना र आवश्यक सुधार विद्यालय सञ्चालकहरूको साझा दायित्व भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, सुधारका विषयलाई तथ्य र प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय तथा संस्थागत प्रक्रियामार्फत उठाउनुपर्ने प्याब्सनको धारणा छ । सार्वजनिक अपमान र आरोप–प्रत्यारोपबाट समस्या समाधान नहुने भन्दै शैक्षिक संस्था सञ्चालन गरिरहेका तथा शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादा कायम गर्नुपर्ने महासचिव कटवालले बताउनुभयो ।

कुनै विद्यालयमा समस्या वा अनियमितता भए सम्बन्धित राज्य निकायले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने प्याब्सनको माग छ । तथ्यहीन आरोप, अपमानजनक अभिव्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि निरन्तर भए कानुनी उपचार खोज्न बाध्य हुने चेतावनीसमेत प्याब्सनले दिएको छ ।

प्याब्सनले आफूहरू संवाद, सुधार, सहकार्य र जिम्मेवार संस्थागत अभ्यासको पक्षमा रहेको स्पष्ट पारेको छ । निजी विद्यालयको योगदानको सम्मान, विद्यालय सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेशागत न्याय र गुणस्तरीय शिक्षा एकअर्काका विरोधी नभई परिपूरक विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।