भोटेकोशी बाढपिछि प्रभावित जलविद्युत आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्रले सरकारसँग नीतिगत सहजीकरणको माग गरेको छ । प्राकृतिक विपद्का कारण क्षति पुगेका आयोजनालाई पुनः निर्माण गरी सञ्चालनमा ल्याउन सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत तथा प्रशासनिक सहजता प्रदान गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताउनुभएको छ । उहाँकाअनुसार भोटेकोशी प्रलयबाट प्रभावित १३ वटा आयोजनामध्ये ९ वटा आयोजना निजी क्षेत्रका रहेका छन् । निजी क्षेत्रका ती आयोजनाको शतप्रतिशत बीमा गरिएको उहाँले बताउनु भयो । बीमा भएकै कारण आयोजनाको पुनर्निर्माण सहज हुने भएपनि पुनर्निर्माण प्रक्रियामा देखिने नीतिगत, कानूनी तथा प्रशासनिक जटिलता समाधान गर्न सरकारको भुमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । प्रभावित आयोजनाको पुनर्निर्माणका लागि सरकारले के–कस्ता सहुलियत र सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषय समेटेर इप्पानले विस्तृत प्रतिवेदन तयार गरी नेपाल सरकारलाई बुझाइसकेको उहाँले जानकारी दिनुभयो । उक्त प्रतिवेदनमा आर्थिक सहायता माग गर्नुभन्दा पनि पुनर्निर्माणका क्रममा आवश्यक पर्ने नीतिगत सहजीकरणका विषयलाई प्राथमिकता दिइएको उहाँले बताउनु भयो ।
‘हामीले निजी क्षेत्रका आयोजनाको शतप्रतिशत बीमा गरेका छौँ । अब त्यहाँ पुनर्निर्माण गर्नुपर्छ । पुनर्निर्माण गर्दा जे–जस्ता अप्ठ्यारा हुन्छन्, त्यसमा सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत सहजीकरण गरिदिनुपर्छ । सरकारले आवश्यक सहजीकरण मात्रै गरिदिए हामी पुनर्निर्माणमा जान्छौँ,’ उहाँले भन्नुभयो ।
डाँगीकाअनुसार प्रभावित आयोजनाहरूको पुनर्निर्माणमा सबैभन्दा महत्वपूर्ण माग अनुमति पत्रको अवधि हो । त्यसैले इप्पानले विद्युत ऐन, २०४९ अनुसार आयोजनाको अनुमति पत्रको अवधि ५० वर्ष कायम गर्न सरकारसँग माग गरेको छ । प्राकृतिक विपद्का कारण निर्माण सम्पन्न हुन लागेका वा व्यावसायिक उत्पादन शुरु गर्ने तयारीमा रहेका आयोजनासमेत पुनः निर्माणको चरणमा जानुपर्ने अवस्था आएकाले अनुमति पत्रको अवधि बढाउनुपर्ने उहाँको भनाइ छ ।
‘हामीले अनुमति पत्रको अवधि विद्युत् ऐन, २०४९ अनुसार ५० वर्ष गरिदिनुपर्छ भनेका छौँ । किनभने निर्माण हुन तयार भएका, अन्तिम चरणमा पुगेका आयोजनासमेत अब पुनर्निर्माणमा जानुपर्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो ।
लाङटाङ आयोजनाको व्यावसायिक सञ्चालन शुरु गर्ने तयारी भइरहेका बेला विपद्का कारण पुनः निर्माणमा जानुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । निर्माणको अन्तिम चरणमा पुगेका र सञ्चालनको तयारीमा रहेका आयोजनाले पुनः निर्माणका लागि थप समय तथा स्रोत खर्च गर्नुपर्ने भएकाले सरकारबाट अनुमति पत्रको अवधि थप गर्नेलगायत नीतिगत सहजीकरण आवश्यक रहेको उहाँको भनाइ छ । सरकार पनि इप्पानले अघि सारेका मागप्रति सकारात्मक रहेको डाँगीले बताउनु भयो । उहाँकाअनुसार प्रभावित आयोजनाहरूको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता सरकारले पनि महशुस गरेको छ । आवश्यक नीतिगत व्यवस्था गर्न सके निजी क्षेत्र पुनर्निर्माणमा सक्रियतापूर्वक लाग्ने उहाँले बताउनु भयो ।
भोटेकोशी प्रलयपछि शुरुमा ऊर्जा उत्पादकहरूमा निराशा देखिए पनि अहिले अवस्था क्रमशः बदलिँदै गएको उहाँको भनाइ छ । विपद्को प्रकृति, त्यसले पु¥याएको क्षति र पुनर्निर्माणको आवश्यकतालाई बुझ्दै जाँदा निजी क्षेत्रको मनोबल बढेको उहाँले बताउनु भयो ।
‘शुरु–शुरुमा अलिकति निराशा थियो । हामी आफैँलाई पनि, यस क्षेत्रमा लागेका मान्छेहरूलाई पनि केही निराशा भएको थियो । तर पछाडि बुझ्दै जाँदा अहिले त्यो निराशा छैन । अहिले उत्साहजनक अवस्था छ,’ उहाँले भन्नुभयो ।
उहाँकाअनुसार हजारौँ वर्षमा एकपटक हुन सक्ने प्रकृतिका यस्ता घटनालाई आधार बनाएर नेपालको जलविद्युत स्रोतको उपयोग नै नगर्ने निष्कर्षमा पुग्नु उचित हुँदैन । विपद्बाट प्रभावित आयोजनाको पुनर्निर्माण गर्दै जलविद्युत् उत्पादनलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।
‘पाँच हजार वर्ष, १० हजार वर्षमा त्यस्ता इन्सिडेन्ट हुन्छन् भन्दैमा हामीले त्यो रिसोर्स प्रयोग नगर्ने भन्ने हुँदैन । त्यसैले हामी उत्साहित नै छौँ,’ उहाँले भन्नुभयो ।
निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स छिटो दिन माग
डाँगीले प्रभावित जलविद्युत आयोजनाको पुनर्निर्माणसँगै निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने प्रक्रिया पनि तीव्र बनाउनुपर्ने बताउनुभएको छ । सरकारले लेटर अफ इन्टेन्ट (एलओआई) दिइसकेका कम्पनीमध्ये आवश्यक योग्यता पूरा गरेका कम्पनीलाई लामो समय कुर्न नलगाई विद्युत व्यापारको लाइसेन्स उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।
उहाँकाअनुसार विद्युत व्यापार सरकार–सरकार (जीटुजी) माध्यमबाट मात्रै नभई व्यवसायी–व्यवसायी (बीटुबी) माध्यमबाट पनि अघि बढाउन सकिन्छ । सरकारी तहबाट हुने कारोबारको तुलनामा निजी क्षेत्रबीचको व्यापारिक कारोबार बढी सहज, व्यावहारिक र प्रभावकारी हुन सक्ने उहाँले बताउनु भयो ।
‘सरकार–सरकार काम गर्नुभन्दा बिजनेस–टु–बिजनेस काम गर्न सजिलो हुन्छ । किनभने एक रुपैयाँ फाइदा भयो भने भारतको कम्पनीले ५० प्रतिशत नाफा खान्छ, नेपालको कम्पनीले ५० प्रतिशत नाफा खान्छ । तर सरकार–सरकारबीच त्यस्तो हुँदैन,’ उहाँले भन्नुभयो ।
उहाँकाअनुसार निजी क्षेत्रबीच विद्युत् व्यापार हुँदा दुवै देशका व्यवसायीले आ–आफ्नो सरकारसँग आवश्यक नीतिगत सहजीकरणका लागि पहल गर्न सक्छन् । भारतको निजी क्षेत्रले त्यहाँको सरकारसँग र नेपालको निजी क्षेत्रले नेपाल सरकारसँग व्यापारका लागि आवश्यक वातावरण बनाउन लबिङ गर्न सक्ने उहाँले बताउनु भयो । यसले दुई देशबीचको विद्युत व्यापारलाई व्यावसायिक र प्रतिष्पर्धात्मक बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । निजी क्षेत्र व्यावसायिक रूपमा बढी प्रभावकारी हुने भएकाले विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई पर्याप्त अवसर दिनुपर्ने उहाँले बताउनु भयो ।
सरकारले विद्युत व्यापारका लागि एलओआई दिएका कम्पनीलाई आवश्यक योग्यता पूरा गरेपछि लाइसेन्स उपलब्ध गराउने प्रक्रियालाई छिटो अघि बढाउनुपर्ने डाँगीको माग छ । आवश्यक योग्यता पूरा गर्न बाँकी रहेका कम्पनीलाई योग्यता पूरा गर्ने अवसर दिनुपर्ने तर योग्यता पूरा गरेर आएका कम्पनीलाई भने दुई वर्षसम्म कुर्न लगाउनु उचित नहुने उहाँले बताउनु भयो । उहाँकाअनुसार योग्य कम्पनीले समयमै लाइसेन्स पाएमा निजी क्षेत्रले आफ्नै स्तरबाट विद्युत् खरिद–विक्री सम्झौता (पीपीए) गर्न थाल्नेछ । यसले विद्युत व्यापारमा नयाँ सम्भावना खोल्नुका साथै नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणमाथि रहेको पीपीएको भारसमेत बाँड्न सहयोग गर्ने उहाँको भनाइ छ ।
‘एलओआई दिइसकेपछि जो योग्य हुन बाँकी छ, उसलाई योग्य हुने अवसर दिनुपर्छ । तर जो योग्य भएर आउँछ, त्यसलाई दुई वर्षसम्म नकुराई लाइसेन्स दिँदै जानुपर्छ । त्यसो भयो भने निजी क्षेत्रले पनि पीपीए गर्न थाल्छ,’ उहाँले भन्नुभयो ।
निजी क्षेत्रले पीपीए गर्न थालेमा विद्युत खरिद–विक्रीको जिम्मेवारी सरकारी निकायमा मात्रै सिमित नरहने उहाँले बताउनुभयो । निजी कम्पनीहरूबीच पनि विद्युत् खरिद–विक्रीको अभ्यास विस्तार हुँदा बजारको दायरा फराकिलो हुने र विद्युत व्यापारमा निजी क्षेत्रको भुमिका बढ्ने उहाँको भनाइ छ । यद्यपि, निजी क्षेत्रबीच पीपीए हुँदैमा मात्रै लगानी सुनिश्चित नहुने उहाँले स्पष्ट पार्नुभयो । निजी क्षेत्रबीच भएको पीपीएलाई बैंक तथा वित्तीय संस्थाले विश्वास गर्न सक्ने वातावरण पनि आवश्यक रहेको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार आयोजनामा लगानी गर्न बैंक तथा वित्तीय संस्थाले पीपीएलाई विश्वसनीय आधारका रूपमा स्वीकार गर्नुपर्छ । निजी कम्पनीबीच भएको विद्युत खरिद–विक्री सम्झौता बैंकले स्वीकार नगरेमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) हुन नसक्ने र त्यसले आयोजनामा लगानी जुटाउन कठिनाइ हुने उहाँको भनाइ छ ।
‘निजी क्षेत्रमा पीपीए गरेपछि त्यसको पैसा तिर्ने ग्यारेन्टी पनि हुनुपर्छ । भोलि फाइनान्सियल क्लोजर त हुनुप¥यो । निजी क्षेत्रबीच पीपीए ग¥यो, तर त्यो पीपीएलाई बैंकले पत्याएन भने लगानी त हुँदैन । त्यसैले त्यो खालको वातावरण पनि बनाउनुपर्छ,’ उहाँले भन्नुभयो ।
डाँगीले अहिले विद्युत खरिद–विक्री सम्झौता (पीपीए) को मोडालिटीका विषयमा पनि विभिन्न अभ्यास तथा छलफल भइरहेको बताउनुभएको छ । विद्युत उत्पादन बढ्दै गएको अवस्थामा उत्पादित विद्युतको बजार व्यवस्थापन, खरिद–विक्रीको सुनिश्चितता र निजी क्षेत्रको सहभागिता बढाउने विषय महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
उहाँकाअनुसार पीपीए कसरी गर्ने, निजी क्षेत्रलाई कसरी सहभागी गराउने र विद्युत व्यापारलाई कसरी व्यावसायिक बनाउने भन्ने विषयमा अहिले अभ्यास भइरहेको छ । सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसर दिने, योग्य कम्पनीलाई समयमै लाइसेन्स उपलब्ध गराउने र निजी क्षेत्रबीच हुने पीपीएलाई विश्वसनीय बनाउने वातावरण तयार गर्न सके नेपालको विद्युत बजार थप विस्तार हुनसक्ने उहाँको भनाई रहेको छ ।
भोटेकोशी प्रलयबाट प्रभावित आयोजनाको पुनर्निर्माणदेखि अन्तरदेशीय विद्युत व्यापारसम्मका विषयमा सरकारले नीतिगत सहजीकरण गर्नुपर्नेमा इप्पानको जोड रहेको छ । निजी क्षेत्र लगानी गर्न र पुनर्निर्माणमा अघि बढ्न तयार रहेको भन्दै सरकारले आवश्यक नीतिगत वातावरण बनाइदिनुपर्ने अध्यक्ष डाँगीले बताउनुभएको छ । –न्युज एजेन्सी नेपाल