नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले नेपाली पर्यटन व्यवसायीमा बढ्दो चिनियाँ भाषाको ज्ञानले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा सांस्कृतिक सहकार्यका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा आयोजित चिनियाँ भाषा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिनियाँ भाषा सिकेका पर्यटन क्षेत्रका पेशाकर्मीले दुई देशबीच पर्यटन प्रवद्र्धन तथा व्यवसाय विस्तारमा पुलको भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले भाषा, शिक्षा, संस्कृति तथा पर्यटनका माध्यमबाट नेपाल–चीन सम्बन्ध थप सुदृढ हुँदै गएको समेत बताउनु भयो । उहाँले चिनियाँ भाषा प्रशिक्षणले नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटकसँग प्रभावकारी संवाद गर्न, पर्यटन व्यवसाय विस्तार गर्न तथा दुई देशका टुर अपरेटरबीच सहकार्यका नयाँ सम्भावना खोज्न सहयोग पुग्ने समेत बताउनु भयो । उहाँले चिनियाँ भाषा प्रशिक्षण सिकाइको आधारभूत चरण भएको उल्लेख गर्दै भाषा अध्ययनलाई निरन्तरता दिन समेत विद्यार्थी तथा पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भाषा, शिक्षा, सांस्कृतिक गतिविधि, शिक्षक तथा विद्यार्थीबीचको आदानप्रदानमार्फत दुई देशको सहकार्य तथा सम्बन्ध निरन्तर विस्तार हुँदै आएको छ । आज नेपाली विद्यालयका विद्यार्थीहरूका लागि आयोजना गरिएका चारवटा प्रतियोगिता पनि यस्तै सहकार्यको एउटा महत्वपूर्ण उदाहरण हुन् । चिनियाँ भाषा प्रशिक्षण, भाषण प्रस्तुति, चित्रकला तथा चिनियाँ गीतलगायतका गतिविधिमार्फत विद्यार्थीहरूले आफ्नो अतिरिक्त क्रियाकलाप, विशेषगरी चिनियाँ भाषासम्बन्धी क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन् । नेपाली पर्यटन व्यवसायले यस प्रकारको सहयोग प्राप्त गर्नु निकै महत्वपूर्ण अवसर पनि हो । नेपालस्थित चिनियाँ दूतावासबाट निरन्तर प्राप्त हुँदै आएको सहयोगले पर्यटन क्षेत्रलाई थप प्रोत्साहन मिलेको छ । चिनियाँ भाषा हाम्रा लागि निकै महत्वपूर्ण छ, किनभने यसले दुई देशबीच व्यापार तथा व्यवसायका विभिन्न अवसर सिर्जना गर्नेछ । नेपाल र चीनका टुर अपरेटरहरूबीच सहकार्यका नयाँ सम्भावना र व्यवसायका नयाँ बाटाहरू खुल्नेछन् । पछिल्लो छ महिनामा चिनियाँ भाषा सिकेका पर्यटन क्षेत्रका पेशाकर्मीहरूले दुई देशबीच पुलको भूमिका निर्वाह गर्नेछन् । उनीहरूले दुवै देशका प्रतिनिधि तथा सद्भावदूतका रूपमा काम गर्दै भाषा ज्ञानको उपयोग गरेर पर्यटन व्यवसायलाई अझ प्रभावकारी बनाउनेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।’
उहाँले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि विभिन्न माध्यमबाट सहयोग गरेकोमा चीनप्रति आभार समेत व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्ड, नेपालस्थिति चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा ६ महिने प्रशिक्षण दिइएको हो । –न्युज एजेन्सी नेपाल