काठमाडौं- बाह्रखरी मिडिया प्रा.लि.ले चौथो बाह्रखरी कथा लेखन प्रतियोगिताको घोषणा गरेको छ ।
आईतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाह्रखरी मिडिया प्रा.लि.अन्तर्गतको बाह्रखरी बुक्सले ‘चौथो बाह्रखरी कथा लेखन प्रतियोगिता –२०७९’ घोषणा गरेको हो । नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरुको सम्मान र नवप्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो कथा आईतवारदेखि भदौ १४ गतेभित्र पठाइसक्नुपर्ने बाह्रखरी डटकमका कार्यकारी सम्पादक तथा बाह्रखरी कथाका आन्तरिक निर्णायक समितिका संयोजक गोविन्द अधिकारीले जानकारी दिनुभयो । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक मण्डलले ५० कथा छनौट गरेर निर्णायक मण्डललाई पठाउने र निर्णायक मण्डलले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा कथा छनौट गर्ने उहाँले बताउनु भयो । उहाँले त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने बताउनु भयो ।
प्रथम कथालाई एक लाख रुपैयाँ, द्वितीयलाई ६० हजार रुपैयाँ र तृतीयलाइ ४० हजार रुपैयाँ नगदसहित पुरस्कार तथा प्रमाणपत्र दिइने जनाइएको छ । त्यस्तै अन्य २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने भएको छ ।