गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रा.लि. र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा पाउँपालिका भित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ । रामेछाप जिल्लाको गोकुलगंगा पाउँपालिका भित्र उत्पादित कृषिउपचलाई खरिद गरी गोल्यान समूहअन्तर्गतको जनता एग्रो एण्ड फरेष्ट्री र माटो ब्राण्डमार्फत बजारीकरण गर्ने भएको हो । गोकुलगंगाको कृषि उत्पादनमा वृद्धि गर्ने र किसानहरुलाई व्यवसायी कृषिमा लगाएर पालिकामा उत्पादन भएको कृषिउपज वस्तु खरिद गरी बजारको सुनिश्चितता गर्ने भएको छ । गोकुलगंगा गाउँपालिका कृषि उत्पादनमा ठूलो सम्भावना देखिएकाले जनता एग्रोले उक्त पालिकाबाट पहाडको उत्पादन बजारीकरण गरी विदेशसम्म निर्यात गर्ने वातावरण बनाउन लागिएको कम्पनीले बताएको छ । जनता एग्रो एण्ड फरेष्ट्री र माटो ब्राण्डले आगामी ५ वर्षमा ५० हजार किसानसँग जोडिने उद्देश्यका साथ गोकुलगंगा पालिकामा कृषिउपज तरकारी,फलफूल लगायतका वस्तु खरिद गरी बजारीकरण गर्ने योजनाका साथ गोकुलगंगा गाउँपालिकाबाट शुरुवात गर्न लागेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताउनु भयो । उहाँले गोकुलगंगाको भुगोल,हावापानी र किसानहरुको उत्साह देखेर किसानहरुसँग सहकार्य गर्न उत्सुकता बढेको बताउनु भयो । उहाँले यस योजनाअन्तर्गत झापाका केही नगरपालिकामा जोडिसकेको समेत बताउनु भयो । उहाँले गोकुलगंगा पहाडी जिल्लामा पहिलो परीक्षण रहेको भन्दै ५ स देखि ४३ सय मिटरको एउटै भुगोल भएकाले कृषिमा धेरै ठूलो सम्भावना देखिएको बताउनु भयो। अध्यक्ष गोल्यानले सबै ठाउँमा बाटोको समस्याको कारण पुग्न नसकिए पनि रस्नालुसम्म पुग्दा साना किसान र कृषि प्रशोधनको लागि उपयुक्त ठाउँ भेटिएको उल्लेख गर्नुभयो । उहाँले पालिकाका किसानहरुलाई केके उत्पादन गर्ने भन्नेकुरा क्यालेण्डर बनाएर दिने र किसानले उत्पादन गरेका सबै उत्पादन खरिद गरी बजारीकरण तथा विदेश निर्यात गर्ने बताउनु भयो । उहाँले गोकुलगंगाका किसानलाई कृषि खेतीका लागि आवश्यक कृषिकर्जाका लागि सहजीकरण समेत गरिदिने योजना रहेको बताउनु भयो । उहाँले गोकुलगंगामा कन्ट्याक्ट फार्मिङ शुरुवात गरी त्यहाँका किसानको आम्दानी पाँच वर्षमा दोब्बर बनाउने उद्देश्य रहेको बताउनु भयो। उहाँले गोकुलगंगाको उत्पादनलाई काठमाडौंमा मात्रै नभएर विश्वभर रहेका ८० लाख एनआरएनहरुलाई पु¥याउने योजना रहेको बताउनु भयो । उहाँले गोल्यान समूहले गोल्यान एग्रो प्रा.लि.मार्फत माटो ब्राण्ड अगाडि नै स्थापित रहेको भन्दै अहिले अर्गानी ब्राण्ड आशापुरी समेत जोडेर जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड सञ्चालनमा ल्याएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘गोल्यान समूहले गोल्यान एग्रो प्रा.लि.मार्फत माटो ब्राण्ड अगाडि नै स्थापित गराएका छौं । अहिले सर्टिफाइट अर्गानी ब्राण्ड आशापुरी समेत जोडेर जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड सञ्चालनमा ल्याएका छौं । यसबाट विदेश निर्यात थालेका छौ । विशेषगरी नेपालभरका किसानहरुसँग जोडिने र किसानसँग कन्ट्याक फार्मिङ गर्ने र किसानले उत्पादित सामान खरिद गर्ने ,माटो ब्राण्डमा कृषि प्रशोद्धन समेत गरेर नेपाल बेच्ने र विदेशमा समेत निर्यात गर्ने योजना छ । ८० लाख विश्वमा नेपाली एनआरएनहरु हुनुहुन्छ । त्यहाँ नेपाली अर्गानीक उत्पादन पु¥याउने लक्ष्यका साथ अगाडि बढेका छौं । अबको ५ वर्षमा ५० हजार किसानसँग जोडिदै किसानसँग सहकार्य गरेर पालिकाहरुमा गएर शुरुवात गर्दैछौं । शुरुवात झापाबाट भइसकेको छ । त्यही क्रममा रामेछापको गोकुलगंगा पालिकामा पुग्यौं । गोकुलगंगाको ५ सय देखि ४३ सय मिटरको एउटै भूगोलमा कृषिको धेरै सम्भावना देखियो । सबै ठाउँमा बाटोको समस्याको कारण पुग्न सकिएन । गोकुलगंगा साना किसान र कृषि प्रशोधनको लागि उपयुक्त ठाउँ भेट्टायौं । गोकुलगंगाका किसानसँग जोडिन लालयित छौं । त्यहाँका किसानहरु पनि उत्साहित हुनुभएको छ । त्यहाँका किसानहरुलाई केके उत्पादन गर्ने क्यालेण्डर बनाएर दिन्छौं । कृषि प्रशोधनमा माटो ब्राण्डमा पार्किङ गर्ने, कस्तो प्रविधि मेसिन प्रयोग गर्ने सबै भन्छौं । त्यहाँका किसानलाई कृषि उत्पादनको लागि कृषिकर्जा दिलाउनको लागि सहजीकरण र सहकार्य गर्छौं । हामीले दिएको क्यालेण्डर अनुसार भएको सबै कृषि उत्पादन हामी किन्छौं । अहिले भइरहेको रैथाने उत्पादनहरु पनि किन्छौं ।’
त्यस्तै,गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले गोकुलगंगामा उत्पादन हुनसक्ने कृषिको सम्भावना र किसान पहिचान गरी कार्यविधि बनाएर अगाडि बढ्ने बताउनु भयो । उहाँले पालिकाको सबैभन्दा ठूलो सम्भावना कृषि रहेकाले पालिकाले पनि कृषिमा प्राथमिकता दिएको बताउनु भयो । उहाँले पालिकाका किसानहरुको आम्दानीको स्रोत बनाउने र उत्पादित सामग्री खरिद गरिने कुरामा पालिका सकारात्मक रहेको भन्दै गोल्यान एग्रो प्रा.लि.सँग सहकार्य गर्न सकिने बताउनु भयो । अध्यक्ष खड्काले गाउँपालिका आफैँले पालिकामा उत्पादित कृषि सामग्री राख्नको लागि कोल्ड स्टोर बनाउने योजना रहेको भएपनि स्टोर सञ्चालनमा समस्या रहेको बताउनु भयो । उहाँले पाँच वर्षको कार्यकालमा पालिकामा कृषि,सडक,शिक्षा क्षेत्रमा विकास र समृद्धि ल्याउने गरी काम गरिरहेको बताउनु भयो ।
गोल्यान एग्रो प्रा.लि.ले पहिलो चरणमा झापाका विभिन्न स्थानमा २ सय बिघा जग्गा खरिद गरेर व्यावसायिक फार्मको स्थापना गरेर कृषिमा काम गरिरहेको छ । उत्पादनमा आफैँ अग्रसर गोल्यान समूहले देशभरबाट प्रांगरिक कृषिउपज संकलन गरी माटो ब्राण्डमार्फत बजारीकरण गरिरहेको छ । माटो ब्राण्डमार्फत मौसमी तरकारीसँगै फलफूल, चिया, कफी, मसला, बासनादार चामल, महलगायतका सबैखाले कृषिजन्य उपजहरू उपलब्ध गराउँदै आएको छ ।