सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको प्रष्ट पार्नुभएको छ ।
नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो । सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो । आफूले सञ्चार माध्यमहरू बन्द नगरेको आरोप खेप्नुपरेको भन्दै उहाँले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो । पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको स्पष्ट पार्नुभयो । पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ । यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु । तपाईंहरूले साइबरसँग सम्बन्धित विषयहरू के–के हुन् भन्नेकुरा पनि जानकारीमा राख्नुपर्छ । सरकारले त्यस्ता विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था बन्यो भने त्यो सबैभन्दा राम्रो हुन्छ । तर कहिलेकाहीँ यति धेरै गुनासाहरू आउँछन् कि एउटा मन्त्रीका रूपमा मैले दिनदिनै यो किन बन्द नगरेको ?, त्यो किन बन्द नगरेको ? भन्दै सञ्चार माध्यमहरू बन्द नगरेको आरोप खेप्नुपरेको हुन्छ । त्यसैले सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा पनि ध्यान दिनुभयो भने सरकारलाई काम गर्न सहज हुन्छ । पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरा सरकारलाई राम्रोसँग थाहा छ । तर सरकार विभिन्न पक्षप्रति जवाफदेही हुनुपर्ने बाध्यताका कारण कहिलेकाहीँ केही विषयमा फरक परिस्थिति सिर्जना हुनसक्छ । यद्यपि पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य छैन । यो कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु । हामी यो क्षेत्रलाई बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सधैँ तयार छौँ । तर गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउनुहोला । त्यो स्वीकार्य हुँदैन । म सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि काम गर्न पूर्णरूपमा तयार छु ।’
मन्त्री तिमिल्सिनाले सरकार सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन तयार रहेको जिकिर गर्नुभयो । कुनैपनि गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन पनि उहाँले चेतावनी दिनुभयो । –न्युज एजेन्सी नेपाल