विश्व सिमसार दिवसका अवसरमा फेवातालमा माछाको भुरा छोडियो

.

विश्व सिमसार दिवसको अवसर पारेर फेवातालमा माछाको भुरा छोडिएको छ ।

शुक्रवार विश्व सिमसार दिवसको अवसरमा कास्कीको पोखारास्थित फेवातालमा माछाका भुराहरु छोेडिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भुराहरु छोडिएको जलाहारी समुदायका ज्ञानबहादुर जलाहरीले बताउनु भयो । उहाँले जलाहारीहरु समुदायका लागि आज धान रोपाईंको दिन भएको बताउनु भयो । फेवा तालमा यसरी भुरा नछोड्ने हो भने आफूहरुको कसौँडीमा खाना नपाक्ने बताउनु भयो । उहाँले वडा नम्बर ६ बाट भुरा छोड्ने काम भएको र पहिलो पटक वडा स्तरीय बजेट पाउँदा खुशी लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जलाहारीहरुका लागि आज धान रोपाईं हो । किनभने जलाहारी भनेको प्राचिन कालेदखि नै माछा मारेर जीविकोपार्जन गर्ने जनसमुदाय हो । जसले फेवा तालमा यसरी भुरा नछोड्ने हो भने हाम्रो कसौँडीमा चामलको गेडा आउँदैन । हामीले हातमुख जोड्ने भनेको यसबाटै मारेको माछा बजारमा बिक्री वितरण गरी आएको रकमबाट गर्ने हो । वडा नम्बर ६ बाट भुरा छोड्ने काम भयो । यो जलाहारीको लागि ऐतिहासिक काम हो । पहिलो पटक वडा स्तरीय बजेट पाउँदैछौँ । भुरा छोडिसकेका छौँ ।’

पोखरा महँनगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि सोही पेशामा आवद्ध जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडेको बताउनु भयो । उहाँले फेवातालमा विभिन्न प्रजातिका भुरा माछाहरु छोडेको र यसले फेवा तालको सौन्दर्यतासँगै जलाहरी समुदायको जीविकोपार्जनमा पनि सहयोग पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि बसिरहनुभएका जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडिसकेका छौँ । जसमा शहर माछा पनि लोप भएको हुनाले केही शहर माछाहरु पनि छोडेका छौँ । विभिन्न जातिका माछा छन् । यसले फेवा तालको सौन्दर्यलाई पनि राम्रो बनाउने र जलाहारी समुदायको जीविकोपार्जनमा पनि सहयोग हुने भएकाले छोडेका छौँ । ४ लाख बराबरको नेट पनि ड्याम साइट भन्दा माथि व्यवस्था गरेका छौँ ।’

अध्यक्ष भट्टराईले जलाहारी समुदायलाई लक्षित गरी ४ लाख बराबरको नेट पनि व्यवस्था गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल