राष्ट्र बैंकको ऐन अनुसार नै गभर्नरलाई निलम्बन गरिएको हो: अर्थमन्त्री शर्मा

.

काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको दाबी गर्नु भएको छ ।

 

अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको बताउनु भएको हो । उहाँले सरकारले राष्ट्र बैंकको ऐन कानून अनुसार कारबाही गरेकाले त्यो कानून सम्मत भएको तर्क समेत गर्नु भयो । मन्त्री शर्माले गभर्नर किन निलम्बन गरियो भन्ने विषयमा छानविन समितिले छानविन रिर्पोट आएपछि थाहा हुने बताउनु भयो ।

 

उहाँले छानविन समिति बनाएकाले अहिले छानविन समितिलाई काम गर्न दिनु पर्ने बताउनु भयो । मन्त्री शर्माले राष्ट्र बैंकले लक्ष्य भन्दा बढी कर्जा प्रवाह गर्न दिएर नियन्त्रण गर्न नसकेको आरोप लगाउनु भयो उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्र बैंकको गभर्नर निलम्बनको राष्ट्र बैंकको ऐन अनुसार कारबाही गरिएको हो । यो कानुन सम्वत कुरा नै हो । किन गरियो भन्ने बारेमा गभर्नरलाई छानविन गर्न एउटा समिति बनाएका छौं । समितिले छानविन गरेर हामीलाई रिर्पोट दिने छ ।

 

त्यो रिर्पोटले यी सबै प्रश्नको जवाफ दिने छ । छानविन कमिटि गठन भएको हुनाले छानविन कमिटिलाई काम गर्न दियो भने एक महिना भित्र सबै कुराहरु तपाई सामु आउने छ । अब हाम्रो कर्जा प्रभावहको कुरा १९ प्रतिशत लक्ष्य राखिएको थियो । कर्जा प्रवाहमा ३२ प्रतिशतसम्म पुग्यो । यसलाई समयमा नै नियन्त्रण गर्नु पर्ने आवश्यकता हो कि होइन । अर्थमन्त्रालयले गदैन यो राष्ट्र बैंकै काम हो ।’