घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु)

.

वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले हरिशयनी एकादशी आज देशभर विशेष धार्मिक अनुष्ठानका साथ मनाउँदैछन् । यस पर्वमा आज सनातन धर्मावलम्बीहरूले आ–आफ्नो घरको मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपेका छन् । धार्मिक मान्यताअनुसार निर्जला एकादशीका दिन बीउ राखिएको तुलसीको बिरुवालाई आजकै दिन मठमा सार्ने परम्परा रहेको छ । बिहानै स्नान गरी शुद्ध चित्तले मन्त्रोच्चारण गर्दै बिरुवा रोप्ने र विशेष पूजाअर्चना गर्ने श्रद्धालुहरूको घर–घरमा चहलपहल देखिएको छ । आज रोपिएको तुलसीलाई आगामी चार महिनासम्म अर्थात कात्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) सम्म विशेष श्रद्धाका साथ पूजा गर्ने गरिन्छ । आजकै दिनदेखि हिन्दु संस्कृतिमा ‘चतुर्मास’ व्रतको समेत औपचारिक आरम्भ भएको छ । पुराणहरूका अनुसार भगवान विष्णु आजैका दिनदेखि चार महिनासम्म क्षीरसागरमा शयन गर्ने हुनाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो । भगवान विष्णु शयन गर्ने यस अवधिमा मांगलिक कार्यहरू (विवाह, व्रतवन्ध आदि) नगर्ने र आध्यात्मिक साधना तथा जप–तपमा ध्यान केन्द्रित गर्ने शास्त्रीय मान्यता रहेको छ । वैज्ञानिक दृष्टिले समेत अधिक अक्सिजन उत्सर्जन गर्ने र औषधिजन्य गुणले युक्त मानिने तुलसीलाई आध्यात्मिक रूपमा ‘विष्णुप्रिया’ का रूपमा पुजिन्छ । तुलसी रोपिएको घरलाई तीर्थ समान मानिने र त्यहाँ नकारात्मक ऊर्जा प्रवेश नगर्ने जनविश्वास रहिआएको छ । यस अवसरमा आज राजधानीको बूढानीलकण्ठ, चाँगुनारायण, शोषनारायण, इचंगुनारायण, माछापोखरीस्थित नारायण मन्दिर लगायत मुलुकभरका विभिन्न विष्णु मन्दिरहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । एकादशीका अवसरमा आज धेरैले निराहार व्रत बसी फलाहार गर्ने र एकादशी महात्म्य श्रवण गर्ने गर्दछन् । कात्तिक शुक्ल एकादशीमा तुलसीको विवाह नगरुन्जेलसम्म प्रत्येक दिन बिहान–बेलुका तुलसीको मठमा दीप प्रज्वलन गरी पूजा गर्ने क्रम आजैबाट शुरु भएको छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल