आर्थिक कुटनीति सरकारको प्रमुख प्राथमिकताः प्रवक्ता पौडेल क्षेत्री

.

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आर्थिक कुटनीति सरकारको एक प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।
शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक व्यापार, लगानी र पर्यटनका माध्यमबाट देशको आर्थिक वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनु भयो । सरकारी सुधारको कार्यसूचीअनुसार कन्सुलर सेवा विभागमा ‘बिजनेस प्रोसेस रि–इन्जिनियरिङ’ को काम अघि बढेको छ । गत चैत १३ गते स्वीकृत शासकीय सुधार कार्यसूचीको बुँदा नं १० अनुसार विभागका निर्देशकको संयोजकत्वमा गठन भएको कार्यदलले हाल सेवा सुधारका लागि सघन रूपमा काम गरिरहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब आर्थिक कुटनीतिको विषयमा यहाँहरूलाई जानकारी गराउनुपर्दा आर्थिक कुटनीति सरकारको एक प्रमुख प्राथमिकता हो यहाँहरूलाई जानकारीमै छ । व्यापार प्रवद्र्धन, वैदेशिक लगानी, पर्यटन, आरोग्य पर्यटन जस्ता माध्यमबाट नेपालको आर्थिक वृद्धिका लागि आवश्यक कार्यहरू भइ नै रहेका छन् । ०८२ चैत १३ को स्वीकृत शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर १० अनुसार कन्सुलर सेवा विभागको बिजनेस प्रोसेस रि–इन्जिनियरिङ बिपिआरका लागि विभागका निर्देशकको संयोजकत्वमा एक प्रक्रिया सुधार कार्यदल गठन भई उक्त कार्यदलले हाल काम गरिरहेको छ । कन्सुलर सेवा विभागबाट प्रदान गरिने जुन सेवाहरू छन् ती सेवाहरूलाई थप सरल, पारदर्शी तथा समय सापेक्ष बनाउन कन्सुलर सेवा कार्यविधि, २०८१ को मस्यौदालाई अन्तिम रूप दिने गृहकार्य पनि हामीले अगाडि बढाइसकेका छौँ ।’
कन्सुलर सेवालाई थप सरल, पारदर्शी र समयसापेक्ष बनाउन ‘कन्सुलर सेवा कार्यविधि, २०८१’ को मस्यौदा तयार भइरहेको उहाँले बताउनु भयो । यसलाई अन्तिम रूप दिन गृहकार्य भइरहेको र यसबाट सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल