बलिङमा उत्कृष्ट साथ पाएपछि नेपालको जित

.

दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले आइसिसी विश्वकप लिग–२ मा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरमा शनिवारदेखि शुरु भएको त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले पाहुना टोली युएईमाथि ३७ रनको रोमाञ्चक जित निकाल्दै सुखद् शुरुवात गरेको छ । कमजोर लक्ष्य दिएको नेपालले बलिङमा राम्रो साथ पाउँदा जित निकाल्न सफल भयो । नेपालको जितमा दीपेन्द्रसिंहले अलराउन्ड प्रदर्शन गरे । उनले ७५ रनको इनिङसँगै एक विकेट पनि लिए । उनी म्यान अफ दी म्याच पनि भए । आठ राष्ट्र सम्मिलित लिग–२ (२०२३/२०२७) को साइकलमा पुछारको टोली युएईलाई हराउँदै दबाब कम गरेको छ । २१ खेलबाट ६ जितसँगै नेपालले १४ अंक जोड्यो । जुन २१ खेलबाट पुछारमा रहेको युएईको भन्दा चार अंकले मात्र बढी हो । त्रिवि क्रिकेट मैदानमा नेपालले २०१ रनको सामान्य लक्ष्य दिएको थियो ।
जबाफमा  युएई ४८.२ ओभरमा १६३ रनमा नै अलआउट हुन पुग्यो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली जित निकाल्न सफल भयो । मध्यम गतिका बलर करण नायक बने । ९.२ ओभरमा १९ रन खर्चिएका करणले चार विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो । २.६ ओभरमा दुई विकेट पतन भएपछि युएईको शुरुवात राम्रो हुन सकेन । ओपनर अदिव उस्मानी १ रन र मुहम्मद साहदाब २ रनमा नै पभेलियन फर्कियो । अर्का ओपनर आर्यान्स शर्मा १८ रनमा पभेलियन फर्किए । ९.५ ओभरमा युएई ३९÷३ को नाजुक अवस्थामा पुग्यो ।  यसपछि दबाबमा परेको युएईले खुलेर ब्याटिङ गर्न नै सकेन ।
हर्मित सिंहले ३९ र कप्तान मुहम्मद वासीमले ३४ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो । अक्षदीप नाथले ३० रन जोड्दा निलान्स केस्वानीले समान १८ रनको योगदान गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुखद प्रदर्शन गर्न सकेन । दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपाल ४८.२ ओभरमा दुई सय रनमा अलआउट भयो । शीर्ष पाँच ब्याटर सस्तैमा आउट भएपछि नेपाल संकटमा प¥यो । २०.३ ओभरमा ९० रन जोड्दा नै नेपालका पाँच ब्याटर आउट भए । तर, मध्य क्रमका ब्याटर दीपेन्द्रले ७५ रनको अर्धशतकीय योगदान दिँदै घरेलु टोलीको इनिङ समाले ।
९० बलमा दीपेन्द्रले पाँच चौका र दुई छक्का प्रहार गरे । जुनेद सिद्दिकीको बलिङमा उनी दशौं विकेटका रूपमा आउट भए । दीपेन्द्रले पाँचौं विकेटका लागि बसिर अहमदसँग ४१ रन र आठौं विकेटका लागि करण केसीसँग ४२ रनको साझेदारी गरे । यी साझेदारीले नै नेपाललाई दुई सय रनको आँकडा पार गर्न मद्दत मिल्यो । बसिर २० रनमा र करण २२ रनमा आउट भए । बसिर हैदर अलीद्वारा र करण अजय कुमारको बल आउट हुन पुगे । ३७ बल खेलेका करणको इनिङमा समान एक चौका र छक्का रह्यो । बसिरले ४० बलमा तीन चौका प्रहार गरे ।
त्यसअघि दोस्रो ओभरमै ओपनर आसिफ शेख ७ रनमै आउट भएपछि नेपालको सुरुआत खराब रह्यो । त्यो विकेटसँगै घरेलु टोली समालिन नै सकेन । एकपछि अर्को विकेट गुमायो । भीम सार्की १० रन, ओपनर कुशल भुर्तेल २४ रन र कप्तान रोहितकुमार पौडेल २ रनमा नै पभेलियन फर्किए । ११औं ओभर सकिँदा नेपाल ४९÷४ को स्थितिमा थियो । अजय कुमारले ११औं ओभरको अन्तिम बलमा कप्तान रोहितलाई आउट गरे । यसपछि दीपेन्द्र क्रिजमा आए । दीपेन्द्रले अनुशासित ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक योगफलतर्पm अग्रसर गराए ।–न्युज एजेन्सी नेपाल