खाद्य गुणस्तर सुधार र पारदर्शिता बढाउन मन्त्री चौधरीको निर्देशन

.

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनु भएको छ ।
शुक्रबार मन्त्री चौधरीले विभागको अनुगमनका क्रममा देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहेको बताउनु भएको छ । साथै खाद्य प्रविधिको विकासमार्फत मूल्य अभिवृद्धि, पोषण सुधार तथा निर्यात प्रवद्र्धनमा पनि विभागको अहम योगदान रहेको उहाँले उल्लेख गनुभयो ।
उहाँले हाल खाद्य वस्तुको विविधिकरण, खाद्य योगशिल तथा प्रशोधन सहयोगीको प्रयोग, सीमित मापदण्ड, प्रयोगशाला सेवाको दायरा र स्रोत साधनको कमीका कारण नियमन कार्य चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । तर नियमित बजार अनुगमन, गुणस्तर परीक्षण, मोबाइल भ्यान सञ्चालन, खाद्य प्रविधि विकास तथा नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाहीजस्ता कार्य प्रशंसनीय रहेको मन्त्री चौधरीले तर्क राख्नुभयो ।
“गुनासोरहित, छरितो र प्रभावकारी सेवा प्रवाह” गर्न निर्देशन दिँदै कुनै पनि अवस्थामा सेवाग्राहीसँग घुस माग्ने, ढिलासुस्ती गर्ने वा नाकामा बार्गेनिङ गर्ने गतिविधि नदोहोरिन चेतावनी समेत दिनु भएको छ । हाल केही कर्मचारीमाथि मुद्दा दायर र निलम्बन भएको प्रसंग उल्लेख गर्दै यस्ता घटनाले संस्थाको छवि कमजोर बनाउने बताउनुभयो ।
मन्त्री चौधरीले विभागलाई नियमित बजार तथा उत्पादन स्थल अनुगमन, होटलदेखि सडक किनारासम्मका सबै खाद्य व्यवसायको निगरानी, खाद्य अनुमति तथा आयात प्रक्रियालाई छरितो बनाउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशनुभयो । यसका साथै, प्रयोगशाला सेवाको दायरा विस्तार र एक्रेडिटेशन बनाउन, विषादी, हेभी मेटल, माइकोटक्सिन तथा पानीको गुणस्तर परीक्षण विस्तार गर्न समेत निर्देशन दिनु भएको छ । त्यस्तै, भेटेरिनरी ड्रग रेसिड्यु र एन्टिअक्सिडेन्ट परीक्षण सुरु गर्ने, आहारपूरक खाद्य पदार्थको नियमन, घरदैलोमै पुगेर उद्योगीलाई परामर्श सेवा, ट्रान्स फ्याट नियन्त्रण र लेबलिङ, प्याकेजिङ र म्याद सम्बन्धी अध्ययन तथा निगरानी गर्न समेत मन्त्री चौधरीले निर्देशन दिनुभएको छ ।