परराष्ट्र नीति निर्माणमा प्राज्ञिक र बौद्धिक बहसको भुमिका अपरिहार्यः परराष्ट्रमन्त्री खनाल

.

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्स (एनसीडब्लुए) को वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सिमित नरहेको बताउनु भयो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू नेपालको कुटनीतिक प्राथमिकता रहेको बताउनु भयो ।
मन्त्री खनालले वर्तमान विश्वले जलवायु संकट, विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध र ऊर्जा सुरक्षाजस्ता बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको बताउनु भयो । परराष्ट्रमन्त्री खनालले औपचारिक कुटनीतिले कतिपय संवेदनशील विषयहरूमा तत्काल संवाद अगाडि बढाउन नसक्ने अवस्थामा ‘ट्रयाक टू डिप्लोमेसी’ (दोस्रो तहको कूटनीति) मार्फत अनौपचारिक र बौद्धिक संवाद चलाउन एनसीडब्लुएले पुलको काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको बदलिँदो परिस्थितिमा नेपालले आफ्नो सार्वभौमसत्ता अक्षुण्ण राख्दै विश्व बजारमा आफ्नो अर्थतन्त्रलाई एकीकृत गर्नुपर्ने चुनौती छ । यस्तो अवस्थामा एनसीडब्लुएजस्ता स्वतन्त्र र गैर–राजनीतिक थिंक ट्याङ्कको भुमिका अझै महत्वपूर्ण भएको छ । अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सिमित छैन; यो नागरिकको दैनिक जीवनसँग जोडिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू हाम्रा कुटनीतिक प्राथमिकता हुन् ।’
सन् १९४८ मा स्थापित यस संस्थाले नेपालको कुटनीतिक विकासक्रममा एक सचेत पहरेदारको रूपमा कार्य गर्दै आएको मन्त्री खनालले उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले एनसीडब्लुए जर्नलको नयाँ अङ्क विमोचन गर्दै यसमा समेटिएका गहन लेखहरूले नीति निर्माताहरूलाई विश्वव्यापी भू–राजनीतिक परिवर्तनहरू बुझ्न र उचित निर्णय लिन बौद्धिक आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  –न्युज एजेन्सी नेपाल